लगानी बोर्डले संयोजन गरेको हुवाासिन सिमेन्ट उद्योगले शनिबारदेखि परीक्षण उत्पादनको कार्यक्रम सम्पन्न गरेको छ । परीक्षण उत्पादनका लागि हुवासिन सिमेन्टका चिनियाँ प्रतिनिधिसहित चिनियाँ दूतावास तथा प्रतिनिधिको सहभागिता थियो ।
उद्योगस्थल धादिङको बेनीघाट रोराङ गाउँपालिकाको ताल्तीमा एक समारोहको आयोजना गरी परीक्षण उत्पादनको प्रारम्भ गरिएको हो । हुवासिनका उच्च अधिकारी भने भिडियो लिङ्कमार्फत जोडिएका थिए ।
हुवासिन सिमेन्ट उद्योगका उपमहाप्रबन्धक डिल्लीराज पोखरेलका अनुसार उद्योगमा आज विशेष समारोहको आयोजना गरिएको हो । उनका अनुसार पूर्णरूपमा व्यावसायिक उत्पादनका लागि भने थप दुई महिना लाग्नेछ । डिसेम्बरभित्रै परीक्षण उत्पादन थाल्ने भनिए पनि प्राविधिक तयारी बाँकी रहेकाले केही दिन ढिला भएको हो ।
नेपाली र चिनियाँ व्यवसायीको संयुक्त लगानी रहेको सो उद्योगमा गत कात्तिकको अन्तिम सातादेखि विद्युत् उपलब्ध भएको थियो । उद्योगले प्रदूषण नियन्त्रणका लागि ध्यान दिएको जनाएको छ । ड्राइ प्रोसेस प्रविधिबाट उत्पादन हुने र विश्वमा हाल अत्यन्त प्रचलित फिल्टरलगायत इलेक्ट्रो स्ट्याटिक प्रिसिपिटेटर (इएसपी) जडान गरिएको छ ।
प्रकाशित मिति: शनिबार, पुस २४, २०७८ २०:४९