कोभिड–१९ महामारीमा अभिभावक गुमाएसँगै आर्थिक अभावका कारण विद्यालय छाड्न बाध्य बालबालिकाले निःशुल्क शिक्षा पाउने भएका छन् ।
राजनीति, व्यवसाय र सामाजिक कार्यमा सक्रिय युवाको प्रयासमा टुहुरा बालबालिकाका लागि छात्रवृत्ति अभियान सुरु गरिएको हो ।
काठमाडौंमा सोमबार आयोजित एक कार्यक्रमबीच नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र डिशहोम नेटवर्कका प्रबन्ध निर्देशक एवं कामना सेवा विकास बैंकका अध्यक्ष सुदीप आचार्यले संयुक्त रुपमा सो अभियानको औपचारिकरुपमा घोषणा गरेका छन् । ‘भरोसा छात्रवृत्ति’ नाम दिइएको उक्त अभियानका लागि प्रारम्भिक चरणमा डिशहोम परिवारले आर्थिकरुपमा व्यवस्थापन गर्नेछ ।
कार्यक्रममा महामन्त्री थापाले मृतक परिवारका अरु कयौँ समस्या भए पनि बालबालिकाको शैक्षिक निरन्तरता बढी चुनौतीपूर्ण रहेको निष्कर्षसहित आफूहरु अभियानमा जुटेको बताएका थिए । कोरोना महामारीका कारण अभिभावक गुमाएकाको मुख्य जिम्मेवारी राज्यको भए पनि सचेत नागरिकले व्यक्तिगत वा संस्थागत रुपमा योगदान गर्न जरुरी रहेको उनको भनाइ छ ।
‘कोभिड–१९ महामारीको दुवै लहरमा धेरैले आफन्त गुमाएका छन् । त्यस्ता परिवारका अरु थुप्रै समस्या छन् । आर्थिक अभावका कारण शैक्षिक निरन्तरता चुनौतीपूर्ण भएको अवस्थामा त्यो पाउने वातावरण बने नागरिकको समाजमाथिको भरोसा बढ्छ’, थापाले भने, ‘मलाई चिन्दै नचिनेको व्यक्तिले मलाई पढाउन सघायो भन्ने भावनाले उसले समाजमाथि विश्वास गर्ने वातावरण बन्छ ।’
डिशहोमका प्रबन्ध निर्देशक आचार्यले छात्रवृत्तिको दायरा फराकिलो बनाउँदै कोभिडबाहेक भविष्यमा हुनसक्ने अरु सम्भावित महामारीका कारण अभिभावक गुमाएका बालबालिकालाई समेट्ने सोच रहेको जानकारी दिँदै भने ‘महामारी र अप्ठेरोका कारण आर्थिक अवस्था कमजोर भएर शैक्षिक निरन्तरता दिन नसक्ने बालबालिकाको जिम्मा हामी लिन्छौँ’ । छात्रवृत्तिलाई डिशहोमको मात्र नभई नेपालीको साझा अभियान बनाइने उल्लेख गर्दै आचार्यले अभियानमा सघाउन सबैलाई अपिल गरे ।
तथ्यांक संकलनमा कार्यरत संस्था ‘फ्याक्ट नेपाल’ का प्रमुख कार्यकारी अधिकृत मनिष झाले नेपालमा २७ लाख बालबालिका गरिबीका कारण शिक्षाबाट वञ्चित रहँदै आएकामा पछिल्लो केही समयमा उक्त संख्या घटेर १४ लाखमा झरेको जानकारी दिए । महामारीका कारण शिक्षाबाट वञ्चित देशभरका बालबालिकाको तथ्यांक संकलन भइरहेको उनले बताए ।
एक वर्षका लागि छात्रवृत्तिमा आवश्यक रकमको व्यवस्था डिशहोम परिवारले गर्ने छ । डिशहोमका लगानीकर्ता, कर्मचारी तथा देशभरका डिलर÷सब डिलरबाट ४० लाख संकलन गरिएको जानकारी सो अवसरमा दिइयो । आचार्यका अनुसार विद्यार्थी छनोट गर्दा मानव विकास सूचकाङ्कमा कमजोर रहेका कर्णाली, सुदूरपश्चिम र प्रदेश–२ का जिल्लालाई प्राथमिकतामा राखिने छ । फ्याक्ट नेपालले कोरोनाका कारण ज्यान गुमाएकाको तथ्यांक संकलन गर्ने र सोही तथ्याङ्कका आधारमा विद्यार्थी छनोट गरिने अभियानले जनाएको छ । छात्रवृत्ति पाउने विद्यार्थीलाई डिशहोम सञ्जालमार्फत रकम प्रदान गरिने छ । विद्यार्थीले हाल अध्ययन गरिरहेका विद्यालयमै पूर्ण छात्रवृत्तिको सुविधा पाउने छन् । छात्रवृत्तिको समन्वय गर्ने जिम्मेवारी हेल्प नेपाललाई दिइएको छ ।


प्रकाशित मिति: मंगलबार, पुस १३, २०७८ ०६:१५