नेकपा (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा प्रमुख राजनीतिक दलका शीर्ष नेताको उपस्थिति छ । शनिबार मात्रै राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गरेको माओवादीको कार्यक्रममा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललगायत शीर्ष नेताहरूको उपस्थिति छ ।
युद्धकालीन नेताहरू सिपी गजुरेल उपस्थित हुँदा डा. बाबुराम भट्टराई, मोहन वैद्य (किरण), नेत्रविक्रम चन्दलगायत नेताहरू उपस्थित भएको भए राम्रो हुन्थ्यो भन्ने नेता तथा कार्यकर्ताको मनोभावना देखिन्थ्यो । जनयुद्ध सुरु गर्ने समयका तत्कालीन केन्द्रीय समितिमा रहेकामध्ये १७ जना केन्द्रीय सदस्य एवं नेताहरू यतिबेला माओवादीभन्दा बाहिर छन् । महाधिवेशन हलले एकीकृत माओवादीको परिकल्पना गरेको छ ।
क्रान्तिकारी कम्यनिष्ट आन्दोलनको मूलप्रवाहका रूपमा रहेको माओवादी विभाजन, टुट फुट तथा विघटनको प्रक्रियाबाट अगाडि बढेको छ । तत्कालीन एकता केन्द्रबाट जनयुद्धको सुरुआत गर्दा माओवादीको रूपमा स्थापित भएको माओवादीका शीर्ष नेताहरू वैद्य, भट्टराई, चन्द र राबहादुर थापा फरक राजनीतिक दलमा लागेका छन् ।
कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलमा खचाखच भरिएका नेता तथा कार्यकर्ताले भने एकीकृत पार्टी निर्माणका लागि राजनीतिक नीति तथा कार्यक्रमसहित पुनः एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।
नेकपा (क्रान्तिकारी माओवादी) का नेता सीपी गजुरेलले पूर्वमाओवादीहरू एकजुट हुनुपर्ने धारणा राख्दा सभाहलले ताली बजाएर स्वागत गरेको थियो ।
नेता गजुरेलले जनयुद्ध सुरु गर्नुभन्दा अगाडिको केन्द्रीय समितिले गरेको प्रतिबद्धता स्मरण गरे पूर्वमाओवादीहरू एक हुने दिन आउने बताए । राष्ट्रियताको जगेर्ना तथा राजनीतिक नीति तथा कार्यक्रमसहित विचारमा एकठाँउमा आउने वातावरण बनाउन महाधिवेशनमा उपस्थित भएका प्रतिनिधि तथा पर्यवेक्षकलाई उनको आग्रह थियो ।
माओवादीहरू एक ठाँउमा आउने दिन टाढा नभएको उल्लेख गर्दै गजुरेलले जनजीविका र राष्ट्रियताको सवालमा एकै ठाँउमा आउने वातावरण बन्ने उल्लेख गरे ।
धेरै पछि माओवादी अध्यक्ष प्रचण्ड र नेता गजुरेलले प्रज्ञा प्रतिष्ठानको हलमा हात मिलाएको दृश्यलाई प्रतिनिधिहरूले महत्वका साथ लिएका थिए । माओवादीले सञ्चालन गरेको जनयुद्धका कारण गणतन्त्र, सङ्घीयता, समावेशी तथा समानुपातिक प्रतिनिधित्वजस्ता राजनीतिक परिवर्तनको एजेण्डा संस्थागत भएको भन्दै विभिन्न राजनीतिक दलका नेताहरूले सहकार्य तथा सहमतिको कार्यसूचीलाई अझै अगाडि बढाउनुपर्नेमा जोड दिए ।
प्रकाशित मिति: आइतबार, पुस ११, २०७८ १८:२८