चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षमा १९ गैँडा मरेका छन् । मरेका गैँडामध्ये दुई चोरी सिकारीले मारेको आशंका गरिएको छ । अन्य कालगतीले मरेका हुन् ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार चालु आवको साउनमा छ, भदौमा दुई, असोजमा एक, कात्तिकमा तीन, मंसिरमा पाँच र पुसमा दुई गैँडा मरेका हुन् । मरेका गैँडामा बूढो भएर पाँच, भासिएर पाँच, पानीमा डुबेर दुई, जुधेर चार र बाघको आक्रमणबाट एक गैँडा मरेको जनाइएको छ ।
यस्तै साउन १२ गते माडीको घाघर क्षेत्रमा भेटिएको मृत गैँडा र असोज ११ गते धोवा क्षेत्रमा फेला परेको गैँडा सिकारीले मारेको आशंका गरिएको उनले जानकारी दिए ।
कार्यालयका अनुसार आव २०७५/७६ मा ४३ गैँडा मरेका थिए । सो समयमा गैँडा धेरै मरेपछि मर्नुको कारण खोज्न अध्ययन टोली बनाइएको थियो । यस्तै आव २०७७/७८ मा ३३, २०७६/७७ मा २६, २०७४/७५ मा २६, २०७३/७४ मा २५, २०७२/७३ मा १४, २०७०/७१ र २०७१/७२ मा ११/११ गैँडा मरेका थिए । यस्तै आव २०६९/७० मा १० गैँडा मरेको निकुञ्जको तथ्यांकले जनाएको छ ।
पछिल्लो गणनाअनुसार नेपालमा ७५२ गैँडा रहेकामा चितवन राष्ट्रिय निकुञ्जमा ६९४ रहेका छन् ।
प्रकाशित मिति: शुक्रबार, पुस ९, २०७८ १०:०८