बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आफूले नबोलेको कुरा ‘भिडियो एनिमेसन’ मार्फत सम्पादन गरेर भ्रम फैलाउन प्रसारण गरिएको बताएका छन् ।
बिहीबार प्रदेशसभामा बोल्दै मुख्यमन्त्री पाण्डेले आफ्नो दलको कमिटी विस्तार नहुने वडामा बजेट विनियोजन नगर्ने भनेर आफूले कतै नभनेको बताए ।
एमाले प्रदेशसभा सदस्यको अनुपस्थितिमा आज बसेको दोस्रो बैठकमा मुख्यमन्त्री पाण्डेले सामाजिक सञ्जालमार्फत भए पनि आफ्नो जवाफ सुन्न एमालेका नेतालाई आग्रह गरे ।
प्रदेशसभाको हिजोको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का नेता तथा पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले विभिन्न विषयमा ध्यानाकर्षण गराउँदै मुख्यमन्त्रीले जवाफ दिनुपर्ने माग गरेका थिए भने आज बिहान बसेको अर्को बैठकमा पूर्वमन्त्री केशवराज पाण्डेले आफूले राखेको माग पूरा नभएको भन्दै संसद् सञ्चालन गर्नुअघि एमालेले राखेको प्रश्नको जवाफ दिनुपर्ने माग गरेका थिए ।
लगत्तै सभामुख सानुकुमार श्रेष्ठले अनिश्चितकालका लागि स्थगित गरेका थिए । बैठक चार घण्टापछि पुनःबसेको थियो । बैठक अनिश्चितकालका लागि स्थगित भएको सूचनासँगै आफ्ना प्रदेशसभा सदस्य राजधानी हेटौँडा बाहिरिसकेको भन्दै एमालेका कुनै पनि सदस्य बैठकमा उपस्थित भएका थिएनन् ।
प्रकाशित मिति: बिहीबार, पुस ८, २०७८ २१:०४