रघुगंगा गाउँपालिका–४ दग्नाममा आज पहिराले चालकसहित स्काभेटर पुरिएको छ ।
तुदी पावर कम्पनीद्वारा निर्माणाधीन ४८.५ मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजनाको सडक निर्माणका क्रममा चालक र स्काभेटर पुरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले स्काभेटर चालक रघुगंगा–२ का अन्दाजी २७ वर्षका भीमबहादुर खत्री पहिरोमा पुरिएको जानकारी दिए ।
उनका अनुसार अर्को स्काभेटरको सहायताले पुरिएको स्काभेटर र चालकको खोजी भइरहेको छ । उनले भने, ‘सडक खनिरहेको अवस्थामा एक्कासि पहिरो खसेर पुरिएको हो ।’
प्रहरी निरीक्षक गुरुङसहितको सुरक्षाकर्मी, आयोजनाका कर्मचारी, मजदूर र स्थानीयवासी पुरिएको स्काभेटर र चालकको खोजीमा जुटेका छन् ।
प्रकाशित मिति: सोमबार, पुस ५, २०७८ १३:४१