नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको ध्यान नयाँ विचारको विकास गर्दै देशलाई एकताबद्ध गर्नमा रहेको बताएका छन् ।
मंगलबार पर्सा जिल्लाबाट नेकपा (एमाले) तथा जनता समाजवादी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्ने नेता तथा कार्यकर्तालाई पार्टीमा स्वागत गर्दै प्रचण्डले मुलुकलाई नयाँ गति दिने गरी विचारको विकास गर्न लागिएको बताए ।
'यो पटक देशैभरि बलियो पार्टी बनाउनुपर्छ भनेर हामी लागेका छौँ । हाम्रो ध्यान अब समाजवादी क्रान्तिको कसरी विकास गर्ने भन्नेमा छ,' प्रचण्डले भने ।
मधेसको पहिचान र अधिकारका निम्ति आफूहरूले लडाइँ लडेको प्रचण्डको भनाइ थियो । 'बीचमा मधेसी जनतामा भ्रम दिने पनि काम भयो । तर अहिले मधेसमा माओवादी केन्द्रप्रति लहर आएको छ । म मधेसका विभिन्न जिल्लाका कार्यक्रममा जाँदा मैले जनतामा माओवादीप्रति उत्साह देखेको छु,' प्रचण्डले भने ।
मधेसी जनताको मुक्ति र अधिकारको कुरा गर्ने र उनीहरूलाई अगाडि बढाउने हो भने माओवादी केन्द्रबाहेक अरू कसैको पनि विचार त्यहाँका जनताको पक्षमा नभएको उनको दाबी थियो । 'हाम्रो पहिचान र अधिकारको निम्ति लड्ने पार्टी त माओवादी नै हो रहेछ भन्ने चेतना अहिले बिस्तारै आउँदै गएको छ,' उनले भने ।
प्रचण्डले आफूले नेपालको समाजवाद कस्तो हुने भन्नेमा बहस गर्ने र नेपाली जनतालाई अझ माथि कसरी उठाउने भन्ने बारेमा प्रतिवेदन लेखिरहेको बताए ।
पार्टीमा पुनः जोडिन आएका नेता तथा कार्यकर्ताहरूलाई उचित जिम्मेवारी दिने उनको प्रतिबद्धता थियो ।
प्रकाशित मिति: मंगलबार, मंसिर २१, २०७८ १९:४०