गत भदौमा कर नतिरी स्टिकर टाँसिएको फेला परेपछि ललितपुर महानगरले ट्याक्सी तथा भ्यान नियन्त्रणमा लियो । कुनै पनि सवारी साधानमा व्यापारिक प्रायोजनका स्टिकर टाँस्नुअघि महानगरमा तोकिएको कर तिर्नुपर्ने हुन्छ ।
अहिले पनि त्यस्ता ट्याक्सी तथा भ्यानलाई करको दायरामा ल्याउने काम जारी रहेको ललितपुर महानगरपालिकाका नगर प्रहरी प्रमुख सीताराम हाछेतु बताउँछन् । ललितपुर महानगरले यस्ता सवारी साधनलाई करको दायरामा ल्याउने प्रयास गरे पनि यो पूर्ण रूपमा लागु हुन सकेको छैन ।
ट्याक्सीमा स्टिकर राखेबापत कर तिर्नुपर्छ भन्ने जानकारी नै नभएको ट्याक्सी चालकहरू बताउँछन् । ललितपुर महानगरपालिकाले कारबाही सुरु गरेपछि मात्र यो कुरा थाहा भएको ट्याक्सी चालक कान्छा तामाङले बताए ।

‘मेरो ट्याक्सीमा विज्ञापन राखेको २ वर्ष भयो । मलाई एजेन्सीले महिनाको २ हजार दिन्छ । ललितपुर महानगरपालिकाले कारबाही सुरु गरेपछि हामीले एजेन्सीसगँ कुरा गर्दा कारबाही परेमा कर तिरिदिन्छौँ भनेको छ,’ उनले भने ।
चालक कान्छा तामाङका अनुसार एजेन्सीले ट्याक्सी कारबाहीमा परेपछि मात्र कर तिर्न जाने गरेका छन् । यसरी सरकारी ढुकुटीमा आउनुपर्ने ठूलो रकम एजेन्सीले तिरेका छैनन् । ललितपुरले यस्ता विज्ञापनको लागि थोरै चासो देखाए पनि काठमाडौं महानगर भने यो विषयमा उदासीन छ । पहिले एकपटक कर उठाए पनि कोभिडपछि भने नउठाइएको काठमाडौं महानगरपालिकाका राजश्व विभाग प्रमुख डा शिवराज अधिकारीले बताए । आर्थिक गतिविधि राम्रो भएपछि ताकेता गर्ने सोचमा रहेको उनले बताए ।

पहिले कर उठाउँदा पनि थोरै ट्याक्सीले मात्र तिरेको उनले बताए । ‘ट्याक्सीले भन्दा पनि विज्ञापन दिने एजेन्सी कर तिर्न आउँथे । त्यो बेलामा करिब ३ सय वटा ट्याक्सीको कर उठेको थियो,’ उनले भने ।
यस्ता प्रकारका कर उठाउने संयन्त्र राम्रो नभएको उनको तर्क छ । ‘यस्तो कर उठाउन राम्रो कलेक्सन सिस्टम बनाउनुपर्छ । एउटै ट्याक्सी भक्तपुर पनि जान्छ, ललितपुर पनि जान्छ । सबै ठाउँमा कर तिरेर त भएन,’ उनले भने ‘यो विषयमा नगर भन्दा पनि केन्द्र स्तरबाट पहल हुनुपर्छ । यस्तो कर महानगरले उठाउन त्यति वैज्ञानिक हुँदैन।’
तस्वीरहरू – सुशील श्रेष्ठ/शिलापत्र
प्रकाशित मिति: बुधबार, मंसिर २२, २०७८ ०७:३६