प्रहरी संगठनमा चेन अफ कमाण्ड भत्काएर प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्री टर्की गएका छन् । इन्टरपोल महासचिवालयको आयोजनामा टर्कीको इस्तानबुलमा हुन लागेको इन्टरपोलको ८९औँ महासभामा सहभागी हुन आईजीपी क्षेत्री आइतबार टर्की गएका हुन् ।
महासभा ७-९ मंसिरसम्म हुनेछ । आईजीपी क्षेत्रीसँगै अतिरिक्त महानिरीक्षक प्रद्युम्नकुमार कार्की र प्रहरी उपरीक्षक सविन प्रधानसमेत टोलीमा सहभागी छन् । आईजीपी क्षेत्रीलाई बिदाइ गर्न अतिरिक्त महानिरीक्षक निरजबहादुर शाही त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।
सभामा १ सय ९४ इन्टरपोल सदस्य राष्ट्रका प्रहरी अधिकारी सहभागी हुने तथा सदस्य राष्ट्रहरूले वार्षिक प्रतिवेदन पेस गर्ने, इन्टरपोल अध्यक्ष तथा कार्यकारिणी समितिका विभिन्न पदाधिकारीहरूको निर्वाचन हुने र नयाँ सदस्यताका लागि आवेदन गर्ने देशका लागि मतदानद्वारा निर्वाचन हुने र विभिन्न देशबीच विविध विषयमा द्विपक्षीय छलफल तथा निर्णय हुनेलगायतका कार्यक्रम छन् ।
त्योबाहेक महासभामा इन्टरपोल तथ्याङ्क प्रशोधनको आवश्यकता, प्रहरी कार्य तथा प्रविधि, बजेट, संगठित अपराध, साइबर क्राइम, आतंकवाद, मानव बेचबिखनजस्ता अपराधलगायतका विविध विषयमा संकल्प प्रस्ताव प्रस्तुत हुने तथा प्रस्तुत प्रस्तावमा छलफल भएर महासभाबाट पारित हुने कार्यक्रम छ ।
चेन अफ कमाण्ड भत्काइयो
आफ्नो टर्की भ्रमणको बेला प्रहरी महानिरीक्षकको निमित्त जिम्मेवारी आईजीपी क्षेत्रीले एआईजी निरजबहादुर शाहीलाई दिएका छन् । उनी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत छन् । गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनमा क्षेत्रीले प्रहरीको चेन अफ कमाण्ड भत्किने गरेर जुनियर एआईजी शाहीलाई निमित्त प्रमुखको जिम्मेवारी दिएका हुन् ।
उनीभन्दा सिनियर एआईजी हरिबहादुर पाललाई निमत्त नदिएर क्षेत्रीले शाहीलाई दिएका हुन् । शाहीभन्दा पाल करिब सातमहिना अघि एआईजी भएका थिए । पाल आईजीपी क्षेत्रीका प्रतिस्पर्धीसमेत हुन् । यसअघि पनि आईजीपी क्षेत्रीले कात्तिक अन्तिम साता भारत भ्रमणमा जाँदा दोस्रो वरीयताका एआईजी पाललाई निमित्त प्रमुखको जिम्मेवारी नदिई चौथो वरीयताका एआईजी प्रद्युम्न कार्कीलाई निमित्त प्रहरी प्रमुखको जिम्मेवारी दिएका थिए ।
त्यो बेलासमेत चेन अफ कमाण्ड नमिलेको भन्दै पाल र तेस्रो वरीयताका एआईजी शाही बिदामा बसेका थिए । अहिले पनि सोही क्रम दोहोरिएपछि पाल बिदामा बसेका छन् । पाल महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख हुन् ।
आईजीपीको अनुपस्थितिमा दोस्रो वरीयताका प्रहरी अधिकारीले निमित्त प्रमुखको जिम्मेवारी पाउने प्रहरी नियमावलीमा उल्लेख छ । यसअघिका आईजीपी देशबाहिर जाँदा वरीयतामा अगाडि भएका एआईजीहरू नै निमित्त प्रमुख हुँदै आएका थिए । प्रहरी संगठनमा गृहमन्त्री खाँणकाे हस्तक्षेप तीव्र छ । शुक्रबार मात्रै सरुवा अवधि पुगेका प्रहरी निरीक्षकहरूकाे काज सरुवा भएकाे थियाे । जसमा अधिकांश खाँणकाे गृहजिल्लाका छन् ।
प्रकाशित मिति: आइतबार, मंसिर ५, २०७८ १३:०२