निर्धारित मितिलाई हेर्ने हो भने २८ चैत २०७६ मा नै 'प्रेमगीत ३' फिल्म रिलिज हुनुपर्ने हो । तर, सोचेजस्तो सधैँ कहाँ हुन्छ र ?
कोरोना महामारी सुरु भएसँगै फिल्मको रिलिज रोकियो ।
यसबीचमा फिल्मका निर्माता तथा निर्देशक सन्तोष सेनमा आफ्नो फिल्मलाई नेपालका सय हलमा मात्र सीमित नराख्ने सोच राखे । उनलाई लाग्यो, 'मेरो फिल्मलाई भारतमा पनि रिलिज गर्छु ।'
सन्तोष मुम्बई पुगे । सन्तोषले मुम्बईमा नै रहेर त्यहाँकै कलाकार तथा प्राविधिकसँग फिल्मको डबिङदेखि ब्याकग्राउण्ड स्कोरको काम गरे । सन्तोषका अनुसार फिल्मको प्रोडक्सनका लागि झण्डै १ करोड भारु खर्च भएको छ ।
फिल्मको पूर्ण काम सकिएलगत्तै सन्तोषले आफ्नो फिल्मको भारत रिलिज राइट्स बिक्री गरेका छन् । सन्तोषका अनुसार 'इम्पोसिबल फिल्म्स'ले ४ करोड भारु एमजी (मिनिमम ग्यारेन्टी) मा फिल्म खरिद गरेको हो ।
शिलापत्रसँगको गफमा सन्तोषले भने, 'किनेको यस कम्पनीले हो, रिलिज अर्कै कम्पनीले गर्न सक्छ । त्यसको छलफलका लागि म चाँडै मुम्बई जादैँछु ।'
सन्तोषका अनुसार 'प्रेम गीत ३' भारतको ५ सयदेखि १ हजार हलमा रिलिज हुँदैछ । 'हाम्रो फिल्म रिलिजको समयमा अर्को कुन फिल्म रिलिज हुने हो, त्यसले असर गर्छ', सन्तोषले भने, 'समय मिले १ हजारभन्दा बढी हलमा लाग्नेछ ।'
फिल्मले धेरै नकमाए पनि बलिउडका हस्ती प्राविधिकसँग काम गर्न पाएकोमा खुसी छन्, सन्तोष । उनी भन्छन्, 'बलिउडमा ठूला फिल्ममा काम गरेका प्राविधिकले मेरो फिल्ममा काम गर्नुभएको छ । उहाँहरूले फिल्मको खुलेरै तारिफ गर्नुभएको छ । म त यहीँ सफल भइसकेँ ।'
'प्रेमगीत ३'लाई मिलेसम्म नेपाल र भारतमा सँगै रिलिज गर्ने योजना रहेको सन्तोषले सुनाए । भारतमा ढिला भए नेपालमा चाँडै रिलिज हुने उनको भनाइ छ ।
'प्रेमगीत ३'मा प्रदीप खड्का, कृष्टिना गुरुङ, शिव श्रेष्ठलगायतको अभिनय छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर २, २०७८ १२:५०