सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१० सिम्लेफाँटका नेत्रप्रसाद दाहालको हत्या गरी फरार रहेको आरोपमा दुई व्यक्ति पक्राउ परेका छन् ।
काभ्रे खानीखोला–८ का कृष्ण मगर र सिन्धुपाल्चोक लिसङ्खुपाखर–७ का छिरिङ तामाङ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।
गत असोज १९ गते साँझदेखि हराएका दाहालको भोलिपल्ट घरकै आँगनमा बालुवामा पुरिएको अवस्थामा शव फेला परेको थियो । घरअगाडि आँगनमा मानिसको दुवै खुट्टाको औँला मात्र देखिने गरी खाल्डो खनी बालुवाले पुरेको अवस्थामा ६३ वर्षीय दाहालको शव फेला परेको थियो ।
घरअगाडि शव फेला परेपछि प्रहरीले केनाइन महाशाखा, काठमाडौंमा समन्वय गरी विशेषज्ञसहित कुकुरको टोली झिकाई अनुसन्धान सुरु गरेको थियो ।
घटनास्थल वरपर रहेका छरछिमेकका मानिसहरूले तीन दिन अघिदेखि मृतकको घरमा दुईजना अपरिचित पुरुष आउनेजाने गर्ने गरेको भन्ने सूचनाका आधारमा थप अनुसन्धान गर्दै जाँदा उनीहरू पक्राउ परेको बस्नेतले बताए ।
मृतक दाहालले प्रयोग गर्ने मोबाइल मृतकका साथमा फेला नपरेको तर मोबाइल भने चालु नै रहेकाले सोही मोबाइलको लोकेसनका आधारमा काभ्रेका मगर पक्राउ परेका थिए ।
मगरलाई सोही दिन साँझ ७ बजे नै मेलम्चीस्थित हेलम्बु बसपार्कबाट पक्राउ गरिएको उनले बताए ।
मगर पक्राउ परेपछि उनकै बयानका आधारमा सिन्धुपाल्चोकका तामाङलाई काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ नारायणटारबाट असोज २८ गते पक्राउ गरिएको हो ।
मृतक दाहाल र आरोपीहरूबीच दाहालको घर बनाउन ठेक्का लिने सहमति भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । दाहालको घर भत्काई नयाँ बनाउनुपर्ने भएकाले मृतकसँग ठेक्कामा लिनेदिने र असोज २० गतेबाट काम सुरु गर्ने सहमति भएको थियो ।
काम सुरु गर्न ४० हजार पेस्की दिनेसमेत मौखिक सहमति भएको खुल्न आएको प्रहरीको दाबी छ । सहमति भएपछि आरोपीहरूले दाहालसँग नगदै भएको ठानी सो रकम लुट्नका लागि हत्या गरेको हुनसक्ने प्रहरीले बताएको छ ।
आरोपीहरूले असोज १९ गते राति नै दाहालको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आरोपीमध्ये मगरले कोदालोले दाहालको टाउकामा प्रहार गरेको र मृत्यु भएपछि दुवै जना मिलेर मृतककै घरअगाडि आँगनमा खाल्डो खनेर पुरेको प्रहरीको अनुसन्धानले बताएको छ । उनीहरूलाई कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक ७, २०७८ २१:२३