उत्तरपूर्वी ताइवानमा आइतबार शक्तिशाली भूकम्प गएको छ । त्यहाँका बासिन्दाहरूले राजधानी ताइपेईमा ठूलो कम्पनको महसूस गरेको बताएका छन् ।
तर, क्षतिको समाचार हालसम्म प्राप्त नभएको जनाइएको छ । ताइवानको केन्द्रीय मौसम ब्यूरोका अनुसार यस भूकम्पको मापन ६.५ म्याग्नीच्युट रहेको छ । तर अमेरिकी भूगर्भ सर्वेक्षणले संस्थाले भने ६.२ म्याग्नीच्युटको मात्र भएको बताएको छ ।
स्थानीय समयानुसार आइतबार १:११ बजे मध्याह्नमा गएको यस भूकम्पको केन्द्रविन्दु उत्तरपूर्वी यिलान जिल्लाको आसपासको इलाकामा ६७ किलोमिटर गहिराईमा रहेको थियो ।
यिलानमा बस्ने एएफपी संवाददाताका अनुसार कम्पन करिब ३० सेकेन्डसम्म चलेको थियो । भूकम्पपछि ५.४ म्याग्निच्युडको पराकम्पन आएको बताइएको छ ।
सन् २०१८ मा एक रमणीय पर्यटकस्थल हुआलिएनमा आएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी १७ व्यक्तिको मृत्यु भएको थियो भने करिब ३०० जना घाइते भएका थिए ।
सन १९९९ को सेप्टेम्बरमा ताइवानको एक टापूमा गएको ७.६ म्याग्निच्युडको भूकम्पले इतिहासको नै सबैभन्दा घातक रहेको र यसमा परी दुई हजार ४ सय जनाको मृत्यु भएको थियो ।
सन् २०२० को डिसेम्बर मा यिलानमा ६.२ रेक्टर स्केलको भूकम्प गएको थियो । तर यस भूकम्पबाट ठूलो क्षति भने नभएको जनाइएको थियो ।
प्रकाशित मिति: आइतबार, कात्तिक ७, २०७८ १५:२२