नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार पूर्ण कार्यकालसम्म चल्ने बताएका छन् ।
धनगढीको गेटा विमानस्थलमा आज आयोजित पत्रकार सम्मेलनमा पौडेलले वर्तमान सरकारले पूर्ण कार्यकाल बिताएरै निर्वाचन गर्ने जिकिर गरे ।
नेपाली कांग्रेस ‘अर्ली इलेक्सन’को पक्षमा नभएको र यो संविधान विपरीत हुने पौडेलको भनाइ थियो । संविधानमा ‘अर्ली इलेक्सन’बारे उल्लेख नभएकोले छिटै चुनाव हुन नसक्ने उनको तर्क थियो ।
संविधान जोगाउन आफूहरू अदालत गएको र अदालतको निर्णयले संसद्को आयु लम्बिएको जिकिर गर्दै पौडेलले संविधानको रक्षाका लागि सरकार बाँकी समयसम्म चल्नैपर्ने तर्क गरे ।
एमसीसी पास गर्ने अधिकार संसद्लाई रहेको र आफू सांसद नभएकाले त्यो विषयमा बोल्न नमिल्ने पौडेलको भनाइ थियो ।
नेपाली कांग्रेसको महाधिवेशनका सम्बन्धमा सोधिएको प्रश्नमा कतिपय जिल्लामा धाँधली गरिएकाले त्यसलाई पुनः विचार गरेर अघि बढ्नुको विकल्प नभएको उनको भनाइ थियो ।
नेता पौडेलले बाढी र पहिराका कारण सुदूरपश्चिममा भएको भौतिक एवं मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै पीडित परिवारलाई तत्काल राहतको व्यवस्था गर्न माग गरे ।
प्रकाशित मिति: शनिबार, कात्तिक ६, २०७८ १५:०१