१०औँ एसियन भैँसी सम्मेलन भर्चुअल माध्यमबाट हुने भएको छ । कृषि तथा वन विश्वविद्यालय रामपुरमा अन्तर्राष्ट्रिय भैँसी सम्मेलन हुने भएको हो । सम्मेलन यही कार्तिक ८ देखि १२ गतेसम्म हुनेछ ।
भैँसी पालन, व्यवस्थापन, बजारीकरण, उपयोगितालगायत बारेमा नवीनतम् वैज्ञानिक खोज, अनुसन्धान र प्रसार प्रविधिद्वारा भैँसीपालनको विकास र सबलीकरणमा योगदान पुर्याउने उद्देश्यका साथ उक्त सम्मेलन आयोजना गर्न लागिएको हो ।
अन्तर्राष्ट्रिय सम्मेलनको आयोजकमा कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, एसियन बफेलो एसोसिएसन र इन्टरनेसनल बफेलो फेडेरेसन छन् ।
१०औँ एसियन बफेलो कंग्रेस आयोजक समितिका अध्यक्ष प्रा.डा. भूमिनन्दन देवकोटाले सम्मेलन भर्चुअल विधिबाट हुने जानकारी दिए । चितवनमा आज आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत विश्वविद्यालयले उक्त जानकारी दिएको हो ।
अध्यक्ष देवकोटाका अनुसार भैँसी सम्मेलनमा १७ देशका विज्ञले सात विधामा १३५ भन्दा बढी कार्यपत्र प्रस्तुत गर्नेछन् । सम्मेलनमा ३५० भन्दा बढी वैज्ञानिकको सहभागिता रहनेछ । वैज्ञानिक, प्राध्यापक र विद्यार्थी सहभागी भएर पाँच दिनसम्म छलफल हुनेछ ।
भैँसी पालन, व्यवस्थापन, स्वास्थ, बजारीकरण एवम् उपयोगिताबारे भएका नवीनतम् खोज, अनुसन्धानबारे गहन छलफल हुने देवकोटाले बताए ।
सन् २०१७ मा सौराहामा स्थानीय रूपमा भएको भैँसी सम्मेलन सन् २०१८ मा भारतमा भएको थियो । कृषि तथा वन विज्ञान विश्वविद्यालय र तत्कालीन कृषि तथा पशु विज्ञान अध्ययन संस्थानले पशुविज्ञान, पशुचिकित्सा क्षेत्रका वैज्ञानिकले निरन्तर भैँसीको अनुसन्धानलाई केन्द्रमा राखेर पोषण, व्यवस्थापन, रोग निदान तथा उपचार एवम् बेमौसमी प्रजनन प्रविधिमा योगदान गर्दै आएको छ ।
बेमौसमी प्रजनन् प्रविधिबाट करिब ४७ प्रतिशत उत्पादन क्षमता भएको पाइएको छ । बेमौसमी प्रजनन कार्य किसानको गोठमा पुर्याउन विश्वविद्यालयले अध्ययन गरिरहेको छ । विश्वविद्यालयले भैँसी उत्पादनमा भएका नयाँ अनुसन्धानबारे पनि कार्यपत्र प्रस्तुत गर्ने देवकोटाले बताए ।
सम्मेलनको उद्घाटन कृषि तथा पशुपंक्षी विकासमन्त्री महेन्द्र राय यादवले भर्चुअल माध्यमबाटै गर्ने कार्यक्रम छ ।
प्रकाशित मिति: शनिबार, कात्तिक ६, २०७८ १५:०२