बेमौसमी वर्षापछि आएको बाढीपहिरो र डुबानबाट आजसम्म डोटीमा १६ जनाको मृत्यु भएको छ ।
जिल्लाको जोरायल गाउँपालिकामा बाढीपहिरोमा परी घाइते भएका १५ वर्षीय पुष्कर कामीको उपचारका क्रममा आज मृत्यु भएको इलाका प्रहरी कार्यालय जोरायलले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार कामीको मृत्यु भएसँगै जिल्लामा बाढीपहिरोबाट मृत्यु हुनेको सङ्ख्या १६ पुगेको हो ।
मंगलबार र बुधबार मात्रै डोटीमा बाढीपहिरोका कारण १४ जनाको मृत्यु भएको थियो ।
आज एक जनाको उपचारका क्रममा मृत्यु भएको र सायल गाउँपालिका–४ मा घर भत्किएर पुरिएका एक जनाको शव भेटिएपछि मृत्यु हुनेको सङ्ख्या १६ पुगेको हो ।
प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले बाढीपहिरोका कारण डोटीमा १६ जनाको ज्यान गइसकेको बताए ।
यसैगरी बाढीपहिरोका कारण १२ जना घाइते भएका छन् । त्यस्तै ३५ चौपाया मरेका छन् । विस्थापित घरधुरी सङ्ख्या ११०, विस्थापित नागरिक ५०० तथा दुईवटा झोलुङ्गे पुलमा क्षति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक ४, २०७८ १६:४१