सुर्खेतमा सशस्त्र द्वन्द्वका बेला बेपत्ता पारिएका व्यक्तिका पीडित परिवारले परिचयपत्र पाउने भएका छन् ।
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको टोलीले आइतबार जिल्ला प्रशासन कार्यालयमा पीडित परिवारलाई परिचयपत्र दिने भएको हो ।
दश वर्षे सशस्त्र द्वन्द्वका क्रममा सुर्खेतका ५६ व्यक्ति बेपत्ता भएको तथ्याङ्क छ । पीडित परिवारलाई परिचयपत्र प्रदान गर्न आयोगका सदस्य विश्वप्रकाश भण्डारी नेतृत्वको टोली सुर्खेत आउँदैछ । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत श्रीशमशेर राणाले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा परेका उजुरीको सूचीमा नाम समावेश भएका पीडित परिवारलाई परिचयपत्र वितरण गर्न लागिएको जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालयले परिचयपत्र लिन सूचित गर्दै बेपत्ता पारिएका व्यक्ति, उनीहरूका बाबुआमाको नाम, ठेगाना, बेपत्ता पारिएको स्थान र मितिसहितको विवरण सार्वजनिक गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, असोज १५, २०७८ ११:३६