राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी–जोमसोम सडकखण्डमा ज्यानकै जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ । बाढीपहिरोका कारण सो सडकखण्डको तीन ठाउँमा लेदो माटोसहितको पहिरो आउन नरोकिएपछि ज्यानकै जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता रहेको हो ।
हिमालपारिको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने उक्त ७६ किलोमिटर सडकखण्डका विभिन्न ठाउँमा पहिरो गएर सडक साँघुरो भएको छ । सडकखण्डअन्तर्गत अन्नपूर्ण गाउँपालिका– ३ रुप्से छहरा, काभ्रेभिर र बाँदरजुँगे भिरमा सडकको अवस्था अत्यन्त दयनीय र डरलाग्दो रहेको अन्नपूर्ण गाउँपालिका–६ का कृष्ण बरुवालले बताए ।
सामान्य वर्षा हुँदा पनि ढुङ्गा, माटो र लेदोसहितको पहिरो खस्नुका साथै बाटो बगाउने र हिलो हुने भएकाले कति बेला दुर्घटना हुने हो भन्ने भय रहने चालक श्याम रानाले बताए ।
वर्षाका कारण ढुङ्गा र माटोसहितको लेदो खसिरहेको र पहिरो जाने क्रम नरोकिएकाले यात्रु तथा सवारीसाधनलाई आवश्यक सुरक्षा सावधानी अपनाएर यात्रा गर्न अनुरोध गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
म्याग्दीको तिल्केनीदेखि मुस्ताङको घाँसासम्म सडकको डिलतर्फ पहाडको खोँच छिचोलेर उर्लंदै बगेको कालीगण्डकी र कुनातर्फ विशाल पहरा र भिरबाट आउने पहिरो रहेको बेनी–जोमसोम सडकखण्डको अधिकांश भाग खतरायुक्त छ ।
यो सडक २०६२/०६३ सालमा तत्कालीन शाही नेपाली सेनाले ट्र्याक खोलेपछि सञ्चालनमा आएको हो ।
बेनी–जोमसोम सडक कालीगण्डकी कोरिडोरमा समेटिएपछि विगत तीन वर्षदेखि स्तरोन्नति र गत वर्षदेखि कालोपत्रको काम सुरु भएको छ ।
भिरकाटे र बादरजुँगे भिरमा सडक बनाउन नयाँ प्रविधि भित्र्याउन सडक विभागले अध्ययन गरेको थियो । सुरुङ र हाफ ब्रिज प्रविधि प्रयोग गर्ने विकल्पमा सम्भाव्यता अध्ययन भएको बताइए पनि काम सुरु हुन नसकेको स्थानीय जनप्रतिनिधिले बताएका छन् ।
बेनी–जोमसोम–कोरला सडकलाई गण्डकी प्रदेशको ‘लाइफ लाइन’ मानिएको छ । यो सडक कालोपत्र भएमा म्याग्दी र मुस्ताङमा पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिकस्थलको विकासका लागि महत्त्वपूर्ण योगदान पुग्ने प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले बताए ।
'प्रदेशकै लाइफलाइन मानिएको सडकमा बर्सेनि कैयौँ व्यक्तिहरूको लाइफ इण्ड (समाप्त) हुने गरेको छ,' दानाका पिर्थबहादुर पुनले भने, '२०६४ सालदेखि नै यस सडकको अवस्था सुधार्ने धेरै प्रयास भए पनि संवेदनशील भूगोल र परम्परागत प्रविधिको प्रयोगका कारण सडकको अवस्था जस्ताको त्यस्तै छ ।'
स्तरोन्नतिको काम सुस्त
कुल ७६ किलोमिटरको बेनी–जोमसोम सडकमा चार प्याकेजसहित निर्माण कार्यलाई अघि बढाइएको भए पनि निर्माण कम्पनीले कार्यक्षेत्रमा उल्लेख्य मात्रामा उपकरण र जनशक्ति परिचालन गर्न नसक्दा सडक स्तरोन्नति सुस्त गतिमा अघि बढिरहेको छ ।
न्यून कामदार र उपकरण प्रयोग गरेर ठेकेदार कम्पनीले सडक स्तरोन्नति कार्यमा हेलचेक्र्याइँ गरिरहेको गुनासो बढ्दै गएको छ । बेनी–जोमसोम खण्ड गत मङ्सिर १५ गतेभित्र कालोपत्रको काम सक्नुपर्ने म्याद थियो । तर, निर्धारित समय सकिएको एक वर्ष बितिसक्दा पनि सडक कालोपत्रको काम कछुवागतिमा छ ।
निर्माण कम्पनीको ढिलासुस्तीका कारण आयोजनाको अहिलेसम्म तल्लो खण्डमा ७५ र माथिल्लो खण्डमा ९० प्रतिशत मात्रै काम सम्पन्न भएको आयोजनाका प्रमुख मुकुन्द अधिकारीले जानकारी दिए । 'सडक फराकिलो बनाउने र पर्खाल लगाउने काम भइरहेको छ, कतिपय क्षेत्रमा ढिलासुस्ती पनि भएको छ, हामीले ताकेता गरिरहेका छौँ, केही स्थानमा क्वान्टिटी फेरबदल गर्नुपर्ने देखिएको छ,' उनले भने ।
अधिकांश निर्माण कम्पनीले कार्यक्षेत्रमा जनशक्ति बढाउन सकेका छैनन् । कामदार र उपकरण पर्याप्त मात्रामा परिचालन हुन नसक्दा निर्माण कार्यमा ढिलाइ भइरहेको छ । बेनी–जोमसोम खण्डको काम तुलनात्मक रूपमा सन्तोषजनक छैन । आयोजनाको गलेश्वरदेखि तातोपानीसम्मको ठेक्का लिएको शर्मा युनाइटेडले ६० प्रतिशत, तातोपानीदेखि घाँसासम्म शर्मा गजुरमुखीले ६५ प्रतिशत काम सम्पन्न गरेका छन् ।
कठिन भौगोलिक अवस्थिति, बाढीपहिरोजन्य प्राकृतिक प्रकोप र कोरोना महामारीका कारण निर्माण कार्यले अपेक्षित गति लिन नसकेको निर्माण कम्पनीको भनाइ छ ।
प्रकाशित मिति: आइतबार, असोज १०, २०७८ १६:४१