सहकारीमार्फत दूधको बजारीकरण गरी बागलुङका दुई पालिकाका किसानले एक वर्षमा पाँच करोड रुपैयाँ कमाएका छन् । बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाका १४ दुग्ध सहकारीमा आबद्ध किसानले आर्थिक वर्ष २०७७/७८ मा दूध बिक्री गरेर ५ करोड १२ लाख २७ हजार रुपैयाँ आम्दानी गर्न सफल भएका हुन् ।
सहकारीमार्फत सङ्कलन, प्रशोधन र बजारीकरण गर्दा यहाँका किसान दीर्घकालीन रूपमा नै आम्दानी गर्न सफल भएका हुन् । दूध उत्पादन गर्न सके बजारीकरणको जिम्मा सहकारीले लिने भएकाले आफूजस्ता किसानलाई सहज भएको काठेखोला–६ स्थित नमुना दुग्ध उत्पादक सहकारी संस्थाका उपाध्यक्ष तथा अगुवा कृषक बालानन्द कँडेलले बताए ।
चौधवटा सहकारीमा किसानले ल्याएको दूधलाई पुनः एकमुस्ट सङ्कलन, प्रशोधन तथा बजारीकरणको काम गर्दै आएको बागलुङ बजारस्थित बागलुङ दुग्ध उत्पादक सहकारी संघले एक आवमा मात्रै किसानबाट ५ करोड रुपैयाँभन्दा बढीको दूध खरिद गरेर बिक्री वितरण गरेको सहकारीका अध्यक्ष दीपक गौतमले बताए ।
'किसानले दूध उत्पादन गर्ने तर बजारको सुनिश्चितता नहुने मुख्य समस्या थियो, दूधलाई तापक्रम मिलाएर राख्नुपर्ने तथा दूध बिग्रेर खेर जाने समस्याका कारण किसानले दूध उत्पादनका लागि ठूलो लगानी गर्न नसकेको अवस्था थियो', अध्यक्ष गौतमले भने, 'किसान बिचौलियाको मारमा समेत पर्नाले धराशयी बन्ने अवस्थाको अन्त्य गर्न सहकारीमार्फत दूध सङ्कलन गरी सहकारीले नै घरघरमा पुर्याउने काम गर्दै आएको छ । अहिले सहकारीले किसानबाट सङ्कलन गरेको २ हजार ५ सय लिटर दूध दैनिक बिक्री भइरहेको छ, हामीले थोरै मुनाफा राखेर अरु रकम किसानलाई दिँदा किसानलाई दुग्ध व्यवसायप्रति उत्साह आएको छ ।'
दूधलाई एकत्रित गर्ने, ताजा दूध बिक्री गर्ने, बिक्री गरेर बचेको दूधको दुग्धजन्य पदार्थ जस्तै: घ्यू, नौनी, छुर्पी, लस्सी, पनिरलगायतका सामान उत्पादन गर्दै आएको अध्यक्ष गौतमले बताए । उनका अनुसार सहकारीले आव २०७७/७८ मा मात्रै किसानलाई ५ करोडभन्दा बढी दूध खरिदबापतको रकम भुक्तानी दिएको र सहकारी संघसमेत ६० लाख खुद बचत गर्न सफल भएको छ ।
काठमाडाैं निर्यात हुन्छ, बागलुङको छुर्पी बागलुङ दुग्ध उत्पादक सहकारी संघमा झण्डै १ हजार ५ सय किसानले धेरथोर दूध बजारीकरणका लागि पठाउँछन् । संघले दूधसहित नौ प्रकारका दुग्धजन्य परिकार बिक्री वितरणसमेत गर्दै आएको छ ।
त्यसमध्ये काठमाडौँ निर्यात हुने उत्पादन छुर्पी रहेको दुग्ध सहकारीका प्रबन्धक बैकुण्ठप्रसाद शर्माले जानकारी दिए । आव २०७७/७८ मा मात्रै २९ लाख ५५ हजारको दूधबाट बनेको परिकार छुर्पी बिक्री गरेको र अधिकांश छुर्पी काठमाडाैं निर्यात हुने उनको भनाइ छ ।
सहकारीले गत आवमा ४८ लाख ६६ हजारको दही, २० लाख ४४ हजारको घ्यू, २९ लाख १२ हजारको पनिर, १ लाख ८६ हजारको नौनी, १ लाख ९९ हजारको खुवा र ८ हजार ५ सय ६८ को लस्सी बिक्री गरेको छ । आफ्ना उत्पादनलाई बढाउँदै लैजाने र यस वर्ष ५० लाखको छुर्पी निर्यात गरी बागलुङलाई गुणस्तरीय छुर्पी उत्पादन हुने जिल्लाका रूपमा परिचित गराउने सहकारी संघको योजना रहेको अध्यक्ष गौतमले बताए ।
अहिले छुर्पीलाई सहकारी संघले प्रतिकिलो १ हजार २०० मा बिक्री गर्दै आएको छ । सहकारीमा आबद्ध किसानले सहकारीमा आबद्ध भएर दूधको बजारीकरण गर्दा दूधको मूल्यमा समानता र बजारको सुनिश्चिता भएको बताए ।
सहकारी संघमा १५ कर्मचारीले सङ्कलन भएको दूध बागलुङ बजारका घरघरमै लगेर बिक्री गरेर सेवा प्रदान गर्दै आएका छन् । सहकारीको उपयुक्त मोडलका रूपमा दुग्ध सहकारी विकास भएको र बागलुङ दुग्ध उत्पादक सहकारी संघ देशकै नमुना दुग्ध उत्पादक सहकारी संघका रूपमा स्थापित रहेको राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा सहकारी अभियानकर्मी रामबहादुर जिसीले जानकारी दिए ।
कृषक सदस्यले उत्पादन गर्ने, सहकारी संस्थाले सङ्कलन गर्ने र सहकारी संघले दूध तथा प्रशोधन गरी दुग्धजन्य पदार्थ बिक्री वितरण गरेर सहकारीको असल अभ्यास गरेको जिसीको भनाइ छ । 'दैनिक एक हजार ५०० कृषकले आयआर्जन गर्ने अवस्था दुग्ध सहकारी संघले गरेको छ, यसलाई थप व्यवस्थित गराउन सरोकारवालाले ध्यान दिनुपर्छ', जिसीले भने ।
प्रकाशित मिति: शुक्रबार, असोज १, २०७८ १०:०५