नेपाली कांग्रेसले पार्टीका केन्द्रीय सदस्य तथा क्रियाशील सदस्यता छानबिन समितिका सदस्य श्याम घिमिरेमाथि आक्रमण गर्ने पार्टीका नेता, कार्यकर्तालाई कडा कारबाही गर्ने भएको छ ।
प्रधानमन्त्री एवं पार्टीका सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको पार्टीको पदाधिकारी बैठकले पार्टीको आशन्न १४औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता छानबिनका लागि गठित छानबिन समितिका सदस्य घिमिरेमाथि आक्रमण गर्ने सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सभापति बालकृष्ण बस्नेत र त्यसमा संलग्न अन्य कार्यकर्ताहरूलाई कारबाही गर्न पार्टीको अनुशासन समितिलाई निर्देशन दिएको हो ।
शनिबार अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले आक्रमणको सो घटनामा संलग्न नेता, कार्यकर्ताहरूलाई २४ घण्टाभित्र स्पष्टीकरण लिई ३ दिनभित्र कारबाही गर्न सभापति देउवाले पार्टीको अनुशासन समितिलाई निर्देशन दिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
बस्नेत नेतृत्वको टोलीले शुक्रबार बिहान पार्टीका केन्द्रीय सदस्य एवं क्रियाशील सदस्यता छानबिन समितिका सदस्य घिमिरेमाथि समितिको कार्यालयमै पुगेर हातपात गरेका थिए । सोही घटना पार्टीको अनुशासन विपरीत रहेको निष्कर्ष निकाल्दै कांग्रेसले कारबाही गर्न अनुशासन समितिलाई निर्देशन दिएको हो ।
'आजको बैठकले क्रियाशील सदस्यता छानबिन समितिले निर्णय गरेर ल्याएको पत्रबमोजिम नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला क्षेत्र नम्बर १ का सभापति बालकृष्ण बस्नेत एवं सो आक्रमणको घटनामा संलग्न भएका व्यक्तिहरू उपर २४ घण्टाभित्र स्पष्टीकरण सोधेर ३ दिनभित्र संगठनको अनुशासनको कारबाही गर्नका लागि पार्टी सभापति देउवाले पार्टीको अनुशासन समितिलाई निर्देशन दिनु भएको छ ।'
बैठकले क्रियाशील सदस्यता छानबिन समितिलाई सहयोग गर्न पनि पार्टीको सिंगो पंक्तिलाई आह्वान गरेको छ । विधिसम्मत प्रक्रियालाई आत्मसात गर्दै क्रियाशील सदस्यता छानबिन समितिले काम गरिरहेको र त्यसलाई सहयोग गर्न पनि पार्टी पंक्तिलाई आह्वान गरिएको प्रवक्ता शर्माले बताए । बैठकले महाधिवेशनको क्रममा कुनै पनि खालको अराजक गतिविधि नगर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराएको छ । कांग्रेसको आगामी भाद्र १६–१९ गते हुने १४ औं महाधिवेशन हुँदैछ ।
प्रकाशित मिति: शनिबार, साउन २, २०७८ १८:४५