युथ फोर्सको तामझामसहित बालुवाटारबाट बालकोट फर्किएपछि घरको कौसीबाट एमाले अध्यक्ष केपी ओलीले घोषणा गरे– माधव नेपालजस्ता गद्दारलाई कुनै क्षमा गर्न सकिन्न ।
युवा संघले कोटेश्वरमा नेता नेपालको पुतला जलायो । ओलीको किचन क्याविनेटको छलफलमा बसेका एमाले कार्यालय सचिव शेरबहादुर तामाङले शिलापत्रसँग भनिसकेका थिए, ‘अब माधव नेपालविनाको एमाले हुन्छ ।’
यी सबैको एकमुष्ठ जवाफ नेता नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई बुधबार साँझ आफ्नै निवासमा चिया भेटमा बोलाएर दिएका छन् । देउवा कोटेश्वर पुग्दा नेता नेपाल आफ्नो समूहका उपलब्ध सांसदसँग छलफल गरिरहेका थिए । प्रधानमन्त्री देउवाले उनलाई सरकारमै सहभागी हुन आग्रह मात्र गरेनन्, पार्टी विभाजनका लागि सहज बाटो खोलिदिने आश्वासनसमेत दिए ।
‘सरकारमा सहभागी हुने विषयमा विचार गरौंला । तर, संसद जोगाउन विश्वासको मत भने दिनसक्छौँ’ नेपालको भनाई उद्धृत गर्दै उनीनिकट सांसदले भने । कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन एमालेको असन्तुष्ट पक्षका २६ सांसदको निर्णायक भूमिका रह्यो । उनीहरूको हस्ताक्षरकै बलमा देउवाले बहुमत पुर्याएका थिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले भरपर्दो आधार नदेखेको भन्दै प्रधानमन्त्री नियुक्त गर्न अस्वीकार गरेपछि अदालतमा रिट पेस गर्दासमेत नेपाल समूहका २३ सांसद रामशाह पथमा लामबद्ध भएर हस्ताक्षर गरिदिए । त्यसैले प्रधानमन्त्री देउवा नेता नेपालसँग जति कृतज्ञ छन्, एमाले अध्यक्ष ओली उत्ति नै रुष्ट ।
सर्वोच्च अदालतको २३ फागुन २०७७ को फैसलाबाट एमाले ब्युँतिएपछि किनारामा पुगेका वरिष्ठ नेता माधव नेपाल सर्वोच्चकै २८ असारकाे अर्को फैसलाबाट केपी ओली सरकारबाट बाहिरिएपछि नयाँ शक्ति केन्द्र बन्न पुगेका छन् । नेपाल निवास कोटेश्वरमा राजनीतिक भेटघाट तीव्र छन् । प्रधानमन्त्री देउवा कोटेश्वर पुगेको भोलिपल्ट आज बिहीबार बिहानै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र शान्तिपूर्ण राजनीतिमा फर्किएको नेकपाका अध्यक्ष नेत्रविक्रम चन्द विप्लव पुगे ।

कोटेश्वरमा भइरहेका पछिल्ला राजनीतिक भेटहरूले मुख्यतः तीनवटा संकेत गरेका छन् । पहिलो, प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने । नेपाल पक्षका २३ सांसदहरू धारा ७६ को उपधारा ५ अनुसार बनेको देउवा सरकारलाई विश्वासको मत दिने मनस्थितिमा पुगेको छ । त्यसबापत सरकारमा उनले स्वामित्व चाहेका छन् । सम्भवत: त्यसैले देउवाको शपथ ग्रहण समारोहमा सबैभन्दा पहिले उनी पुगेर र सबैभन्दा अघि बधाई दिए । उनी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अघि सारेको सरकार सञ्चालनसम्बन्धी उच्चस्तरीय संयन्त्रको पक्षमा छन् ।
दोस्रो, पार्टी विभाजन गर्नुपर्ने स्थितिमा देउवाको साथ । २९ असारमा कोटेश्वरमै बसेको गठबन्धनको बैठकमा नेता नेपालले एमाले एकता लाग्ने भन्दै परिस्थितिलाई बुझिदिन आग्रह गरेका थिए । तर, अध्यक्ष ओलीले सिंहदरबारमा दिएको बिदाइ मन्तव्य र बालकोट फर्किएपछि गरेको घोषणाले एकता अघि बढ्दैन भन्नेमा नेता नेपाल ढुक्क भइसकेका छन् । त्यसैले एमालेको वैधानिक विभाजन गर्नुपर्ने अवस्थामा अध्यादेश ल्याएर दल विभाजनसम्बन्धी ऐनमा संशोधन गरिदिन उनले आग्रह गरेका छन् ।
तेस्रो, बृहत् वाम एकता । बिहीबार बिहान भएको प्रचण्ड र विप्लवसँगको भेटले बृहत् वाम एकताकाे संकेत गर्दछ । तर, विप्लव मूलतः अघिल्लाे सरकारसँग भएकाे तीनबुँदे सहमति कार्यान्वयनका लागि गठबन्धनका नेताकाे घरदैलाे गर्दै छन् । नेता नेपाल भने एमालेबाट छुट्टिएर माओवादी केन्द्रसहित वामपन्थी पार्टीहरूसँग बृहत् मोर्चा र पार्टी एकता गरेर ओलीलाई चुनौती दिन चाहन्छन् । एमालेभित्रै समानान्तर गतिविधि गर्दै चुनावसम्म सहकार्य गर्ने गरी विपक्षी गठबन्धनमा सामेल भएकाले पनि त्यसलाई पुष्टि गर्दछ ।
कार्यदलस्तरमा भएको सहमतिपछि पार्टीभित्र मत्थर भएको विवाद सर्वोच्चको फैसलापछि पुनः चर्किएको छ । खासगरी एमालेको ओली पक्षलाई यो फैसलाले उत्तेजित बनाएको छ । पार्टी पंक्तिमा नेता नेपालको चर्को विरोध भइरहेको छ । सँगै, नेपाल पक्षले यी सबै घटनाको मुख्य जिम्मेवार अध्यक्ष ओली भएको भन्दै प्रतिवाद गरिरहेको छ । यस्तो समयमा कोटेश्वरमा भइरहेका राजनीतिक भेटले प्रमुख प्रतिपक्ष एमाले र नेता माधव नेपालको आगामी बाटो केही दिनभित्रै टुंगो लाग्ने देखिएको छ ।
नेपाल पक्षबाट एकता कार्यदलमा सहभागी नेताहरू देउवालाई विश्वासको मत दिने र नयाँ पार्टी गठनको तयारीबारे खुलेका छैनन् । कार्यदलका संयोजक भीम रावलले रघुजी पन्तको कुरा सुनेर नेता नेपालले आफूलाई अविश्वास गरेको भन्दै चित्त दुखाएका छन् । पछिल्लो समय नेपाल समूहका दोस्रो तहका प्रभावशाली नेताहरू रावल, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, योगेश भट्टराईहरू पार्टी एकताकै वातावरण बनाउनुपर्ने पक्षमा छन् ।
उनीहरू अध्यक्ष ओली र वरिष्ठ नेता नेपालको रिस शान्त भएपछि संवादको वातावरण बनाएर पार्टी विवादको सरल अवतरण गर्नुपर्ने रणनीतिमा छन् । त्यसका लागि ओली पक्षका कार्यदल सदस्यहरू सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवालीलगायतका नेतासँग नजिक रहेर छलफल गरिरहेका छन् । अध्यक्ष ओलीले बोलाएको स्थायी कमिटी बैठक स्थगित हुनुको कारण पनि त्यसैलाई मानिएको छ ।
प्रकाशित मिति: बिहीबार, असार ३१, २०७८ १३:३५