पद्यकन्या बहुमुखी क्याम्पसको स्नातकोत्तर तह जहाँ वानीरा गिरिलाई पहिलोपटक देख्दा म खुसीले बुरुक्क उफ्रिएकी थिएँ । एउटा साक्षात कवितासँगको साक्षात्कार थियो त्यो ।
दुलही हिमाल कञ्चनजंघालाई एउटी नवयौवना स्त्रीका सेता सुकुमार जंघा (तिघ्रा)को फरक विम्बका रूपमा व्याख्या गर्ने, अर्जुनको उपेक्षाले गलेकी उर्वशीका पीडालाई व्यक्त गर्ने वानीरा शैलीले हामी विद्यार्थीलाई प्रभावित बनाएको थियो । हाउभाउ, कटाक्षसहित प्रेमाशक्त्त र अधीर भएर अर्जुनका अगाडि पुगेकी उर्वशीको अर्जुनको ‘आमा’ सम्बोधनपछिको मनोदशाको चित्रण वानीरा गिरिभन्दा अर्को व्यक्तिले गर्दा उक्त कृतिले शायदै न्याय पाउने थियो ।
वानीरा गिरि एउटा अप्ठ्यारोको नाम पनि हो । स्वभावमा आउने त्यो कडकपनभन्दा भित्रकी वानीरा भने सुललित पद्यजस्ती । कतै नबिझाउने, कहीँ नदुख्ने, नदुखाउने ।
कक्षामा आफूले सोधेका उत्तर दिनेलाई प्रोत्साहन स्वरूप र नदिने छात्रालाई उत्तर नदिएकोमा धन्यवाद स्वरूप ल्वाङ, सुकमेल, किसमिस बाँढ्ने, आफूले अपेक्षा गरेको उत्तर विद्यार्थीले दिए खुलेर खुसी व्यक्त गर्ने, कहिलेकाहीँ सानो थर्मसमा कफी लिएर आउने र आँफैले बोकेर आएको कपमा हालेर पिउँदै पढाउने, जिस्किने, ठट्टा गर्ने, मोबाइल नबोक्ने, सार्वजनिक यातायात चढ्न मन पराउने । केहीपटक सँगै भएकी छु बसमा ।
‘थरीथरीका मानिस, तिनका अनुहारका भाव र विचार हेर्न/सुन्न पाइने यो सार्वजनिक यातायात त एउटा सुन्दर मञ्च हो नि बैनी ! यी चलायमान अनुहार अन्त कहाँ देख्न पाउनु ?’ यसरी सार्वजनिक यातायातप्रतिको मोह व्यक्त गर्नु भएको थियो उहाँले ।
त्यसताका कुनै पत्रिकामा मैले पढेकी थिएँ; वानीरा भन्छिन् – ‘मेरो श्रीमान् दक्षिण एसियाकै सबैभन्दा उत्कृष्ट श्रीमान् हो’ त्यस्तै कुनै बस यात्रामा मैले सोधेकी थिएँ । फुरुङ्ग भएर ‘हो त नि बैनी’ उहाँले आफ्ना श्रीमान्को तारिफ गर्नुभएको थियो । बसको भिडमा उभिएका हामी गरुचेलीको यो वार्ता हुँदै गर्दा बानेश्वरको जाममा थियौं हामी । बाटो बढाउने क्रममा बानेश्वर मीनभवनका सडक छेउका रूख काटिएको उहाँलाई मन परेको थिएन । पछिसम्म पनि पुराना रूखहरूको माया उहाँले गरिरहनु भयो ।
पद्यकन्याको नेपाली विभागमा पढाउनेको तत्कालीन संख्या ४० भन्दा बढी थियो । तीमध्ये कतिलाई वानीरा गिरि मन पर्दैनथ्यो; कतिलाई उहाँ मन पराउनु हुन्नथ्यो । कसैलाई उहाँ अराजक लाग्थ्यो ।
‘कसरी ?’
‘कस्ता लुगा लगाएर आउँछिन् हेर न एकपटक ।’
मैले उहाँलार्ई सारीमा देखिनँ । उहाँ शरीरमा मिल्नेभन्दा ठूला, खुकुला, लामा कुर्ता लगाउनु हुन्थ्यो । सुनभन्दा बढी चाँदीका र अन्य प्रकारका गहना लगाउनु हुन्थ्यो । कपाल बाँधेको देखिनँ । पातलो कपाल छोडेको हुन्थ्यो । यो हुलियामा अराजक भन्नुपर्ने गरिको के थियो ? म केही देख्दिनथें तर अरूहरूलाई लागिदिन्थ्यो ।
एउटी मुखर महिला जो जोकसैसँग शीर ठाडो पारेर बोल्न सक्छे, आफ्ना विचार, तर्क राख्छे, होइनलाई निर्धक्क होइन भन्छे, आफ्नो अगाडि जस्तोसुकै मान्छे उभिए पनि आफूलाई आफ्नै लयमा व्यक्त गर्छे यस्ता महिलालाई जुनै समय वा कालखण्डमा पनि अराजक नै भनिइने रहेछ । वानीराको स्वाभिमानी स्वभावले प्रश्न गर्यो, चाकरी गरेन । तर्क गर्यो, अनावश्यक प्रशंसा न गर्यो न गरेको मन परायो । यो स्वाभिमानी, स्वतन्त्र र सदैव प्रतिपक्षमा रहने एक वागी लेखकको स्वभाव थियो जुन कहीँ डगमगाएन आजीवन यथावत् रहिरह्यो मृत्युपर्यन्त ।
आफ्ना शोधनायक गोपालप्रसाद रिमालप्रति उहाँमा असीम अनुराग, श्रद्धा थियो ।
उहाँ राजनीति नगर्ने तर राजनीतिमाथि गहिरो चाख तथा निर्मम टिप्पणी गर्नुहुन्थ्यो ।
एक दिन उहाँ गलामा फरक खालको माला लगाएर आउनु भयो । हाम्रो चासो तथा प्रशंसाले उहाँलाई अतीतमा पुर्याइदियो । ‘यो मेरी साथी चाँदनी(चाँदनी जोशी) को उपहार हो । हामी पहिला सँगै पढाउँथ्यौं । उसले एकैपटक श्रीमान् र सन्तान गुमाई । म जान सकिनँ । उसको यो वियोगमा, दुखमा मैले जानुपथ्र्यो । तर मसँग उसलाई भेट्न सक्ने हिम्मत नै थिएन । म गएर के भनौं ? म जानै सकिनँ । म गइनँ । चाँदनीले पछिसम्म आफू शोकमा हुँदा म नगएकोमा चित्त दुखाइरही । हो उसैको उपहार हो यो जुन मेरो लागि असाध्य प्रिय छ ।’ बडो प्रेमले आफ्नी सखीलाई उहाँले सम्झनु भयो ।
‘बैनी ! तपाईंसँग बसेर कफी खान मन छ, हिंड्नुस् कफी खाऊँ ।’ पद्यकन्याको गेटमा एकदिन अचानक उहाँले भन्नुभयो । म कुन हतारमा थिएँ, के काम थियो कुन्नि मैले कफी आग्रहका निम्ति समय निकाल्न सकिनँ । कफीको निम्तो फेरि दोहोरियो । तर अहँ यसपटक पनि मसँग समय थिएन । यसरी छुटेको कफी समय अब जीवनमा फेरि कहिल्यै फर्केर आउने छैन भन्ने मलाई के थाहा ?
उहाँलाई आफू जन्मेको गतेभन्दा पनि जन्मेको तिथि बढी प्रिय थियो अक्षय तृतीया । जन्मदिन भन्दा उहाँ अक्षय तृतीया नै भन्नुहुन्थ्यो । पद्यकन्यामा गुरु पूर्णिमामा सबै शिक्षक विद्यार्थी भएर मनाउने चलन थियो । एउटा गुरु पूर्णिमाको कार्यक्रम उहाँको उपस्थितिमा मनाउने मौका मिलेको थियो । जन्मदिन र गुरु पूर्णिमा मैले सम्झिने दिन थिए ।
‘तपाईंको फोन आउँछ भनेर म पर्खिरहेकी थिएँ । बाहिर निस्कने काम थियो । अब निस्कन्छु । तपाईंले मलाई सम्झेर फोन गर्दा मलाई भेट्नु भएन भने राम्रो हुँदैन नि बैनी !’ एउटा गुरु पूर्णिमाको दिन उहाँले भन्नुभएको थियो ।
२०७२ को वैशाखमा म मेरो कविता संग्रहको प्रकाशनको तयारीमा थिएँ । अक्षय तृतीयाका दिन पद्यकन्याकै सहपाठी मित्र रञ्जना शर्मासँग म वानीरा निवास पुगें । गेटसम्म लिन आउनुभयो । हिंडाइमा सुस्तता थियो । शरीर पहिलेको भन्दा मोटो भएको थियो । खुट्टा सुन्निएका जस्ता थिए । बडा प्रेमले स्वागत गर्नुभयो । तर बोल्दाबोल्दै कतै हराएको जस्ती देखिनुहुन्थ्यो । कुराहरू मिलेर आइरहेका छन् भन्ने लागेन ।
यसका बाबजुद फुटबलमाथि लेखिएको मेरो ‘रेलिगेसन जिन्दगी’ कवितामा उहाँले गरेको टिप्पणीले मलाई हौस्याएको थियो । यो भेटको केही दिनपछि पद्यकन्यामा उहाँको प्रसंग निस्किँदा आफूले भर्खरै भटेको कुरा सुनाएँ । एक अग्रज प्राध्यापकले भन्नुभयो– ‘वानीरा दिदी त छटाकी छन् । कसो तपाईंसँग राम्रै व्यवहार गरिछन् ।’ यो सुनेर म स्तब्ध बनें ।
मानिसको शरीरलाई नै रोगको घर भनिन्छ । कसैको रोग, शारीरिक अशक्तता यसरी मजाकको विषय बन्छ भन्ने मेरो अनुमानभन्दा पर रहेछ । त्यसपछि उहाँ सार्वजनिक जीवनमा कहीँ देखिनुभएन । फोनमा भेटिन छोड्नु भयो । भेट्न जानु भनेको उहाँहरूको दैनिकी विथोल्नु हो भन्ने लागेर जान सकिनँ । यसपालि पनि अक्षय तृतीयामा मनले सम्झिरह्यो ।
उहाँले सहजै विद्यावारिधि पूर्ण गर्न पाउनु भएन । उहाँलाई प्राध्यापक बन्न दिइएन। प्रज्ञाले बाह्र वर्षसम्म प्रकाशनका नाममा झुल्यायो । यी त देखिने दृश्य थिए सार्वजनिक भएका । नदेखिने, नसुनिएका, नभनिएका वानीराका कहर कति थिए ? उहाँले एक दिन भन्नुभयो– ‘बैनी ! म आत्मकथा लेख्दैछु । यसमा धेरै मान्छेको असली अनुहार कस्तो थियो देखिनेछ । म मरेपछि मेरो आत्मकथा छापिदिनु भनेकी छु मैले मेरो शंकरलाई...।’
गुरुआमा ! तपाईंलाई कसरी थाहा थियो कि तपाईं तपाईंको शंकरभन्दा अघि यो संसारबाट बिदा हुनुहुन्छ ? तपाईंको आत्मकथा कति लेखियो ? कि लेखिएन ? के थियो तपाईंले भोगेको समयमा त्यस्तो जुन तपाईं आफ्नो जीवनकालमा छापियोस् भन्ने चाहनु हुन्नथ्यो ? कस्ता मान्छेको अनुहारको मुखुण्डो च्यातिनेवाला थियो त्यहाँ ? तपाईंको बाटोमा सधैं अवरोध गर्नेहरू को थिए ? केही नामहरूसँग तपाईं चिढिनुहुन्थ्यो कोको थिए ती ?
प्यारी गुरुआमा ! तपाईंसँग बसेर पिउन छुटेका ती दुई कप कफी र तपाईंको आत्मकथाको चिर तिर्खा बोकेर कोरोनाले उपहार दिएको जीवन बाँचिरहेकी तपाईंकी शिष्या ।
प्रकाशित मिति: शनिबार, जेठ २२, २०७८ १५:०७