त्रिकोणात्मक टी-२० सिरिज क्रिकेटको उपाधिका लागि नेपाल र नेदरल्याण्ड्स भिड्ने भएका छन् ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार वर्षाले प्रभावित खेलमा नेदरल्याण्ड्स र मलेसियाको खेल बराबरीमा सकिएपछि नेपाल फाइनल प्रवेश गरेको हो । मलेसियाँ बराबरीमा रोकिएसँगै प्रतियोगिताबाट बाहिरिएको छ ।
वर्षाले दुई पटक प्रभावित भएको खेलमा मलेसियालाई जितका लागि १० ओभरमा ९२ रन बनाउनु पर्ने चुनौती थियो । तर, निर्धारित ओभरमा मलेसियाले ४ विकेटको क्षतिमा ९१ रनमात्रै जोडेपछि खेल बराबरीमा सकिएको हो ।
वर्षा भएपछि रोकिएको खेलमा नेदरल्याण्ड्सले मलेसियालाई १३ ओभरमा १ सय २० रनको विजयी लक्ष्य दिएको थियो । तर, विजयी लक्ष्य पछ्याएको मलेसियाले ६ ओभरमा ५६ रन जोड्दा फेरि वर्षाका कारण खेल रोकिएको थियो । वर्षाले प्रभावित भएपछि डीएल मेडथका आधारमा खेल १० ओभरमा झारिएको थियो ।
मलेसियाका सैद अजिज ३०, अनवार अरुद्दीन २६ र वीरनदीप सिंहलले १४ रनको योगदान दिए । नेदरल्याण्ड्सका लागि सेबस्टियान ब्राटले दुई तथा बास डिलिड र भिभियन किंगमाले समान १–१ विकेट लिए ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्सले १०. २ ओभरमा तीन विकेटको क्षतिमा ६८ रन बनाउँदा वर्षाका कारण खेल रोकिएको थियो । पछि १३ ओभरमा छोट्याइएको खेलमा नेदरल्याण्ड्सले ४ विकेटको क्षतिमा १०७ रनको योगफल तयार पारेको थियो ।
नेदरल्याण्ड्सका बेन कुपर ५४ रनमा अविजित रहे । यस्तै, कप्तान पिटर शिलारले ३७ र एन्टोनियस स्टाल १० रनमा अविजित रहे ।
चार खेलमा दुई जित, एक बराबरी र एक हार ब्यहोरेको नेदरल्याण्ड्स ५ अंकका साथ शीर्ष स्थानमा छ भने नेपाल तीन खेलमा दुई जित र एक हारसँगै ४ अंकका साथ दोस्रो स्थानमा रह्यो ।
तीन खेलमा दुई हार र एक बराबरीमा मलेसिया १ अंकका साथ पुछारमा छ । नेपाल र नेदरल्याण्ड्बीचको फाइनल खेल ११ वैैशाखमा हुनेछ ।
प्रकाशित मिति: बुधबार, वैशाख ८, २०७८ १६:३७