प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि क्षेत्रलाई आधुनिकीकरण गरी मर्यादित पेसाको रूपमा स्थापित गराउनका लागि सरकारले तीब्र ढंगले काम गरिरहेको बताएका छन् ।
काठमाडौंमा शनिबार एक समारोहका बीच किसान सूचीकरण राष्ट्रिय अभियान शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले कृषि पेसालाई मर्यादित बनाउनका लागि आम्दानीमा वृद्धि गर्नुपर्ने भएकाले कृषि आधुनिकीकरणलाई सरकारले विशेष प्राथमिकतामा राखेको बताए । कृषिको आधुनिकीकरणविना किसानको आम्दानी बढ्न नसक्ने तथा आम्दानीवाला पेसा नभएसम्म मर्यादित पनि हुन नसक्ने तर्क उनको थियो ।
कृषि उपजविना मान्छेको जीवन नचल्ने उल्लेख गर्दे उनले ठूलो पेसा, ठूलो ओहदा भन्ने विषय सबै बेकारको भएको बताए । 'कृषि उपजविना खाद्यान्न वा खाद्यपदार्थविना त मान्छेको जीवन नै चल्दैन । त्यसकारण ठूलो पेसा, ठूलो पद, ओहदा बेकारको अंहकार हो । सबै कुरा चल्ने कृषिबाट हो,' उनले भने, 'कृषिको आधुनिकीकरणका हरेक महिना गेयर चेञ्ज गरिरहेका छौँ । अझ तीब्र गतिका साथ अघि बढ्नका लागि । कृषि रणनीति कार्यान्वयन गर्नका लागि यो (किसान सूचीकरण राष्ट्रिय अभियान) कार्यक्रमले ठूलो सहयोग पुर्याउने छ ।'
उनले किसान सूचीकरण राष्ट्रिय अभियानमा सहयोग गरेकोमा युरोपेली युनियनलाई धन्यवाद दिँदै सहयोग दुरुपयोग हुन नदिने प्रतिबद्धता पनि जाहेर गरे । उनले कृषिको आधुनिकीकरणलगायत विकासका काममा आगामी दिन पनि निरन्तर सहयोग रहने विश्वास आफूले लिएको बताए ।
कार्यक्रममा कृषि तथा पशुपक्षी विकासमन्त्री पद्मा अर्यालले समृद्ध किसान स्वस्थ्य नेपाल निर्माणका लागि किसान सूचीकरण राष्ट्रिय अभियानले ठूलो सहयोग पुर्याउने विश्वास व्यक्त गरिन् । उनले विभिन्न समयमा भएका किसान आन्दोलनको सफलताको कडीको रूपमा किसान सूचीकरण राष्ट्रिय अभियान सुरु भएको पनि बताइन् । उनले अभियानमार्फत किसानको विस्तृत विवरण संकलन हुनुको साथै सरकारको सहयोग लक्षित वर्गसमक्ष पुग्ने विश्वास व्यक्त गरिन् ।
सातवटै प्रदेशमा सञ्चालन हुने गरि काठमाडौंबाट किसान सूचीकरण राष्ट्रिय अभियान सुरु गरिएको हो । यो अभियान अन्र्तगत किसानहरुको विस्तृत जानकारी डिजिटल माध्यमबाट संकलन गरिन्छ ।
प्रकाशित मिति: शनिबार, फागुन २२, २०७७ १८:०९