प्रधानमन्त्री केपी शर्मा ओली गण्डकी प्रदेशको प्राकृतिक सौन्दर्यताबारे व्याख्या गर्दै थिए । समय सोमबार दिउँसो साढे १ बजे । गण्डकी प्रदेश प्रशिक्षण भवनको उद्घाटनको क्रममा प्रधानमन्त्री ओली गण्डकी प्रदेशको हिमालबारे बोल्न थाले ।
त्यहाँ उनले यसो भनेका थिएः
गण्डकी प्रदेश चीनसँग सीमा जोडिएको र भारतसँग पनि सीमा जोडिएको । यो अत्यन्तै प्रसिद्ध हिमालहरू गोरखा हिमालदेखि, मनास्लु हिमालदेखि, जुगल हिमालदेखि, अन्नपूर्ण हिमालदेखि, अन्नपूर्ण रेन्जककै हिमालहरू, माछापुच्छ्रे हिमाल, निलगिरि हिमाल, धौलागिरि । पाँचवटा त यहाँ आठ हजार मिटरमाथिका शिखरहरू नै छन् । धौलागिरि भयो, अन्नपूर्णका तीन वटा पिक र मनास्लु भयो ।
प्रधानमन्त्रीले हिमालबारे बोलिरहँदा दुईवटा विषयमा चिप्लिए । पहिलो जुगल हिमाल गण्डकी प्रदेशमा पर्छ । दोस्रो गण्डकी प्रदेशमा आठ हजार मिटर अग्ला पाँच हिमाल पर्छन् ।
प्रधानमन्त्री ओलीले भनेजस्तो जुगल हिमाल गण्डकी प्रदेशमा पर्दैन । काठमाडौंबाटै देखिने जुगल हिमाल सिन्धुपाल्चोकमा पर्छ । बोल्ने क्रममा दिमागमा आयो अनि प्रधानमन्त्री ओलीले जुगल हिमाललाई पनि गण्डकी प्रदेशमै पर्छ भने । उनले योभन्दा गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहित मञ्चमा रहेका र दर्शकदीर्घामा रहेकाहरू एकअर्कालाई हेर्न थाले । कसैले होइन भनेर कुरा काट्ने आँट गरेनन् ।
अर्को, गण्डकी प्रदेशमा आठ हजारमाथिका पाँचवटा होइन, तीन वटा मात्रै हिमाल पर्छन् । गण्डकीमा धौलागिरि प्रथम (८१६७ मिटर), मनास्लु (८१५६ मिटर), अन्नपूर्ण प्रथम (८०९१ मिटर) मात्रै आठ हजार मिटर अग्ला हुन् ।
प्रधानमन्त्री ओली अन्नपूर्ण प्रथमबाहेक अन्नपूर्ण द्वितीय र अन्नपूर्ण तृतीय पनि आठ हजार मिटर अग्ला हुन् भन्ने भ्रममा परे । तर त्यसो होइन, अन्नपूर्ण द्वितीय ७,९३७ मिटर र अन्नपूर्ण तृतीय ७, ५५५ मिटर उचाइका हिमाल हुन् ।
प्रकाशित मिति: सोमबार, फागुन १७, २०७७ २१:२६