प्रदेश–३ सरकारले पाइलट परियोजनाका रूपमा सुरु गरेको मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रममा आकर्षण ज्यादा भए पनि सन्तुष्टि भने कम देखिएको छ ।
गत १७ चैतबाट प्रदेश ३ का ५ जिल्लामा सुरु गरिएको कार्यक्रममा नागरिकको आकर्षण सोचभन्दा बढी रहेको पाइएको छ । कार्यक्रम सुरु गरिएको ४०औं दिन पुग्दा सेवा लिनेको संख्या ५ सय १४ नाघेको छ ।
कार्यक्रमको नीतिअनुसार स्वास्थ्य जाँच गरेर उपचारका लागि परामर्श मात्रै दिइन्छ । त्यसैले तनाव लिएर फर्कने गरेको पाइएको स्वास्थ्यकर्मीको अनुभव छ ।
हेटौंडा–८ कमानेकी ८० वर्षीया लालमती सार्कीले भनिन्, ‘सबै जाँच त निःशुल्क गरे । तर, औषधि र अरु उपचार याँ नहुने रहेछ ।’
हालका लागि यो कार्यक्रम हेटौंडा उपमहानगरपालिकाभित्रका १९ वटा वडामा मात्रै लागू भएको छ ।
प्रदेश ३ सरकारले नागरिकको स्वास्थ्य परीक्षणका लागि ३ करोड २० लाख विनियोजन गरेको छ । सबै नागरिकलाई स्वास्थ्य सेवामा पहुँच पु-याउने उद्देश्यले यस प्रदेशका मकवानपुर, भक्तपुर, सिन्धुपाल्चोक, सिन्धुली र धादिङका १ र १ वटा स्थानीय तहका लक्षित समूहलाई निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सुरु गरिएको छ ।
पाइलट परियोजना असार मसान्तसम्मका लागि मात्रै हो, उपलब्धि र सिकाइलाई पछ्याउँदै यसपछिको समयमा निरन्तरता दिने योजना रहेको मुख्यमन्त्री डोरमणि पौडेलले बताए ।
विपन्न, लोपोन्मुख तथा अल्पसंख्यक जातिहरू, दलित, महिला स्वास्थ्य स्वयंसेविका, शहीद तथा बेपत्ता परिवार र सशस्त्र द्वन्द्वका घाइतेको निःशुल्क स्वास्थ्य परीक्षण गरी उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी दिन कार्यक्रम सुरु गरिएको हो ।
आर्थिक अभावकै कारण आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारीसमेत लिन नसक्ने समूहलाई लक्षित गरी प्रदेश सरकारले विभिन्न नसर्ने रोगको पहिचान गर्ने गरी कार्यक्रम ल्याएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख सतिश विष्टले बताए ।
संघीय सरकारले नसर्ने रोगबाट प्रभावितहरूका लागि स्वास्थ्य उपचारमा सहुलियतसमेत प्रदान गरिरहेको सन्दर्भमा प्रदेश सरकारले निश्चित समूहलाई स्वास्थ्य समस्या पहिचान गर्न सहयोग गर्दै आवश्यकताअनुसार संघीय सरकारको कार्यक्रमबाट समेत लाभ लिन परामर्श सेवा प्रदान गर्न सकिने विष्टको भनाइ छ ।
मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधि २०७५ को अनुसूचीअनुसार वडाअध्यक्षबाट सिफारिस लिनुपर्नेछ । मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रममा ३० वर्ष पूरा भएका नागरिक हुनुपर्नेछ ।
प्रकाशित मिति: शनिबार, वैशाख २८, २०७६ ०३:४१