डडेल्धुरा : कञ्चनपुरमा नेपाल-भारत सीमा क्षेत्रमा गोली चलेको छ । सोमबार साँझ साढे ६ बजे भारतको उत्तराखण्डअन्तर्गत पर्ने चम्पावत् जिल्लाको बयलबन्दा जंगलमा गोली चलेको हो ।
भरुवा बन्दुकको छर्रा लागेर कञ्चनपुरको दोधारा-चाँदनी नगरपालिका -१ का १८ वर्षीय नरेश सुनार घाइते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी मुकुन्द मरासिनीले जानकारी दिए ।
घाइते सुनारको खुट्टामा छर्रा लागेको छ । वनवासाबाट सामान किनेर फर्किने क्रममा सो घटना घटेको घाइते सुनारले प्रहरीलाई जानकारी दिएका छन् । घटनाको अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय दोधारा- चाँदनीबाट प्रहरी टोली घटनास्थल गएर अनुसन्धान गरिरहेको छ ।
घाइतेलाई अहिले महाकाली अस्पतालमा उपचार भइरहेको छ । गोली चलेको ठाउँ नजिकै भारतीय सीमा सुरक्षा बल (एसएसबी)को क्याम्पसमेत रहेको छ ।
प्रकाशित मिति: सोमबार, पुस २०, २०७७ २१:५९