भारतका विदेशमन्त्री एस जयशंकरले लद्दाखमा चीनसँगको सीमा समस्याका विषयमा भइरहेको वार्ताबारे विस्तृत जानकारी दिन नसकिने बताएका छन् ।
द हिन्दुलाई दिएको अन्तर्वार्तामा उनले लद्दाखस्थित सीमाक्षेत्र लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) मा चीनसँग भइरहेको विवाद समाधान गर्नका लागि लामो समय लाग्न सक्ने बताएका छन् ।
नेपालसँग सम्बन्ध सुधार हुँदै गएको बताएका उनले चीनसँगकाे वार्तामा भइरहेको उपलब्धिबारे केही खुलाउन नचाहेका हुन् ।
यो पनि...
विदेशमन्त्री जयशंकरले यो विवादको तुलना सन् १९८६ मा अरुणाञ्चलको ‘समदोरोंग चु’ मा चीनसँग भएको सैन्य तनावसँग तुलना गरेका छन् । त्यस बेला समस्या समाधान गर्न करिब नाै वर्ष लागेको थियो ।
एस जयशंकरले चीनलाई एलएसीमा भएको सो तनावलाई एउटा घटनाका रूपमा भन्दा माथि रहेर सोच्न आग्रहसमेत गरेका छन् । उनले भारतलाई अमेरिकासँग सम्बन्ध नजिक भएकोमा कुनै तेस्रो पक्षबाट प्रभावित भएर नहेर्नसमेत आग्रह गरेका छन् ।
अन्तर्वार्तामा जयशंकरलाई चीनसँग सैन्य कमाण्डरस्तरमा आठ पटक वार्ता भइसक्दा पनि कुनै समाधान ननिस्किएको भन्दै अब कति समय लाग्छ भनेर प्रश्न गरिएको छ ।
यो प्रश्नको जवाफमा विदेशमन्त्री जयशंकरले भने, ‘सन् १९८६ को समदोरोंग चु संकटलाई फर्किएर हेर्नुपर्ने हुन्छ । यो संकट समाधान गर्नका लागि दुई देशका सेनाबीच भएको वार्ता केही वर्षसम्म पनि परिणामविहीन बनेको थियो ।
तवाङ इलाकामा दुई देशबीचको यो संकट १९९५ मा गएर मात्रै समाधान भएको थियो । दुई देशबीच शान्ति बहाल गर्नका लागि १९९३ मा सम्झौतामा हस्ताक्षर भएको थियो ।’
उनले भने, ‘भारतका लागि महत्त्वपूर्ण कुरा भनेको नै चीनले सीमाक्षेत्रमा सैनिक तैनाथ गरेर विगतमा भएका सम्झौताको उल्लंघन गरेको छ र यस्तो अवस्थामा शान्ति भंग भएमा भारत–चीनको भावी सम्बन्धसमेत प्रभावित हुन सक्छ । जटिल समस्या समाधान गर्न समय लाग्छ र हामी हाम्रो हितमा समाधान गर्ने कोसिस गर्नेछौँ । मेरो अर्थ यसमा हतार गर्न चाहेका छैनौँ । चीनले सैनिक तैनाथी गरेको जवाफमा हामीले पनि भारी सैन्य प्रतिरोध सुनिश्चित गरेका छौँ ।’
जयशंकरले भने, ‘दुई देशबीच एलएसीमा ठूलो मात्रामा सैनिक तैनाथी नगर्ने द्विपक्षीय सम्झौता छ । चीनले ठोस कारणबिना नै यो सम्झौताको उल्लंघन गरेको छ । अर्को कुरा, एलएसीमा दुई देशबीचको सम्बन्ध कस्तो हुन्छ भन्ने कुराले सम्बन्धमा समेत असर गर्छ । यदि एलएसीमा अवस्था बिग्रिएमा बाँकी सम्बन्ध पनि बिग्रिन्छ ।’
‘भारतले पूरै मामिलामा द्विपक्षीय सम्पर्क गर्यो । तर, यस्तो लाग्छ कि चीन तेस्रो पक्षबाट प्रभावित भएको छ । चीनले वैश्विक रणनीतिलाई ध्यान दिइरहेको छ । दीर्घकालीन सम्बन्धका लागि समस्यालाई आपसी समझदारीमा नै समाधान गर्नुपर्छ भन्ने मेरो मान्यता छ र यो बाटो पारस्परिक आदर र गम्भीरताबाट मात्रै निस्किन्छ,’ उनले भनेका छन् ।
जयशंकरलाई 'पछिल्ला छ वर्षमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच १८ पटक भेट हुँदा पनि मोदी चिनियाँ रणनीति बुझ्न असफल भएका हुन् ?' भनेर प्रश्न गरिएको छ ।
जवाफमा उनले भनेका छन्, ‘यसलाई यसरी हेर्नु हुँदैनजस्तो मलाई लाग्छ । यसरी गणना नै गर्ने हो भने जापान, युरोप, एञ्जेला मर्केल र अमेरिकी राष्ट्रपतिसँग बढी कुराकानी भएको छ । कसैलाई भेट्दैमा समस्या समाधान भइहाल्दैन । हामीले भेटेपछि यस्तो समस्या देखियो र त्यसलाई बुझ्न सकेनौँ भन्ने हुँदैन । हामी निश्चित रूपमा पनि चीनले आफ्ना प्रतिवद्धता पालना गरोस् भन्ने मात्रै चाहन्छौँ ।’
प्रकाशित मिति: बिहीबार, मंसिर १८, २०७७ १३:४६