डडेल्धुरा– डडेल्धुराको परशुराम धाममा धार्मिक महोत्सव लागेको दुई वर्ष हुँदा समेत कामदारले ज्याला नपाएको गुनासो गरेका छन् । नगरपालिकाको वडा नम्बर ५ परिगाउँ स्थित परशुराम धाममा १ माघ २०७५ मा लागेको महोत्सवमा काम गरेको ज्याला कामदारले नपाएका हुन् ।
आर्थिक अवस्था कमजोर भएर साँझ बिहानको छाक टार्न समस्या भएको समयमा महोत्सव लाग्दा काम पाएका स्थानीय पारिश्रमिक गरे वापतको ज्याला नपाउँदा चिन्तित बनेका छन् । घरको काम काज छोडेर महोत्सवमा चर्पीदेखि गेटसम्म बनाउने काम गरेको भएपनि पारिश्रमिक वापतको पैसा नपाएको देबेन्द्र चन्दले गुनासो गरे ।
नगरपालिकाले स्थानीयलाई पारिश्रमिक गरे बाफत दिनको ८ सय दिने भने पनि महोत्सव समापन भएको दुई वर्षसम्म आफूले पाउने पैसा नपाएको उनले बताए । ‘पटक–पटक नगरपालिकामा आफूले पाउनु पर्ने रकम उपलब्ध गराइदिन अनुरोध गर्दा समेत वास्ता गरेको छैन् । मैले काम गरे बाफत हुन आउने एक लाख मध्ये ३५ हजार मात्रै पाएको छु,’ उनले भने, ‘पारिश्रमिक गर्दा समेत पैसा नपाउँदा छाक टार्न समस्या हुँदै गएको छ ।’
उपमेयर भन्छिन्- जनप्रतिनिधिले नै वचन पूरा नगर्दा समस्या भयो
नगरपालिकामा धेरै पटक गुनासो राखेको भएपनि ज्याला नदिएको अर्का मजदुर खेम पालीले बताए । उनले घरको कामकाज छोडेर महोत्सवमा काम गरेको बताए। नगरपालिकाले पैसा नदिएपछि २०७६ सालको असारमा नगरपालिकामा जाँदा कात्तिक मसान्त भित्र पैसा दिने नगरप्रमुख भीमबहादुर साउदले आश्वासन दिएको भए पनि पैसा नदिएको उनको भनाइ छ ।
‘चन्दा नउठेको दान नगरेकोले ढिलो भएको तर, संकलन गरेर दिन्छु भनेका थिए । तर, मंसिर आधा पुग्दा समेत दिएका छैनन्,’ उनले भने, ‘आफूले पारिश्रमिक गरेको पैसा नपाए कडा आन्दोलन गर्छौं । केही क्षति भए स्थानीय सरकारले बेहर्नु पर्छ ।’
साउदले पारिश्रमिक नपाएका एक सय जना रहेको बताए। एक सय जनाको पारिश्रमिक जोड्दा ५÷६ लाख बाँकी रहेको उनको भनाइ छ । ‘गाउँ घरको सरकार सुख दुःखमा साथ दिन्छ भन्छन् । तर, हामीहरूले काम गरे वापतको पैसा खाएर मोटो भएका छन्,’ उनले भने ।
वडामा तालाबन्दी

कार्यपालिका बैठकले २०७७ साल असार मसान्त सम्म रकम उपलब्ध गराउने प्रस्ताव पारित गरेपनि हालसम्म कुनै सुनुवाई नभएको कारणले गर्दा वडा नम्बर ५ को कार्यालयमा तालाबन्दी गरेका छन् ।
वडा नम्बर ५ मा महोत्सवको आयोजना भएको र वडा नम्बर ५ पनि मूख्य जिम्मेबार भएकोले वडा कार्यालयमा तालाबन्दी गरेको पीडितले बताएका छन् । सम्बन्धित निकायले ध्यान नदिए ११ गते नगरपालिकामा समेत तालाबन्दी गर्ने उनीहरूले चेतावनी दिएका छन् ।
‘जनप्रतिनिधिले बचन पूरा नगर्दा समस्या’
महोत्सवको आयोजना परशुराम नगरपालिकाले गरेको भएपनि मजदुरको ज्याला दिन भने नगरपालिका पछि हटिरहेको छ । आफैंले आयोजना गरेको महोत्सवमा समेत नगरपालिकाले आफूले नलगाएको जिकिर गरिरहेको छ ।
महोत्सवको समयमा उठ्नु पर्ने रकम बाँकी रहेकोले ज्याला दिन नसेको र पैसा उठाउने कार्य सम्पन्न हुने वित्तिक्कै कामदारले ज्याला पाउने परशुराम नगरपालिकाका उपप्रमुख कलावतीदेवी बोहराले जानकारी दिइन् ।
उनले महोत्सव नगरपालिकाको बजेटबाट नलगाएर चन्दा संकलन गरि लगाउने भन्ने निर्णय भएको तर, पैसा संकलन नहुँदा ज्याला दिन समस्या भएको बताइन् । नगरपालिकाका भित्रका कर्मचारी र जनप्रतिनिधिले पैसा दिने बचन दिएको भएपनि जनप्रतिनिधिले दिएको बचन पूरा नगर्दा समस्या भएको उनको भनाइ छ ।
‘नगरपालिकाले पैसा दिने भएपछि यति दिन भित्र पैसा मिल्छ भन्न मिल्थ्यो । तर, नगरपालिकाले दिने होइन,’ उनले भनिन्, ‘पैसा संकलन नभएकोले कहिले सम्म पैसा दिन्छ भनेर यकिन गर्न सकिँदैन । एक दिन उहाँहरूले अवश्य पनि पैसा पाउँछन् ।’
प्रकाशित मिति: बुधबार, मंसिर १०, २०७७ ०९:५९