डडेल्धुराको अमरगढी- ३ चिरकिट्टे गाउँमा पोल पुर्याएको ४ वर्षपछि बिजुली बलेको छ । स्मार्ट अमरगढीका गाउँ बिजुलीविहीन समाचार शिलापत्रमा प्रकाशित भएपछि अमरगढी नगरपालिकाको पहल र नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र डडेल्धुराको सहयोगमा बिजुली बलेको हो ।
गाउँमा दिनभरी खेतबारीमा चहलपहल भए पनि सूर्यास्तसँगै सुनसान बन्ने यहाँका बस्ति बिजुली बलेसँगै झिलिमिलि बनेका छन् । साँझ पर्नासाथ वरपरका गाउँ झिलिमिली भए पनि यहाँका स्थानीय सोलार, टुकी, ‘झरो’ (सल्लाको दाउरा) बालेर रात बिताउन बाध्य थिए ।
गाउँमा बिजुली बलेपछि यसवर्षको तिहारमा अन्य गाउँबस्ति जस्तै यहाँका गाउँहरू पनि झिलिमिली हुने भएका छन् । गाउँमा विद्युत् पुगेसँगै विद्यालयमा पठनपाठन गर्ने बालबालिकालाई सहज हुने स्थानीय खगेश्वरी पनेरुले बताइन् ।
‘सोलार बालेर पढ्थे । कहिले त घाम नलागेर पढ्न नपाउने समस्या हुन्थ्यो। ‘झरो’ बालेर पढ्दा समयसमयमा ‘झरो’ नबल्दा समस्या हुन्थ्यो,’ उनले भनिन्, ‘बिजुली पुगेपछि अब समस्या टर्यो । बल्ल स्थानीय सरकारको अनुभूति भयो ।’

बिजुली बाल्न धेरै संघर्ष गरेको अमरगढी-३ सतकाटाका भीमबहादुर पाण्डेय बताउँछन् । उनले बिजुली बाल्नकै लागि आफूहरूले जिल्ला सदरमुकामबाट चार वर्ष पहिले विद्युतका पोल बोकेर गाउँमा पुर्याएको बताए ।
ठेकेदार र विद्युत् कार्यालयको लापरबाही तथा स्थानीयले चासो नदिँदा बिजुली नपुगेको भए पनि अहिले स्थानीयको चासो र विद्युत् कार्यालयको अग्रसरतामा बिजुली पुर्याउन सफल भएको अमरगढी-३ का वडाध्यक्ष गोविन्द बोहराले बताए ।
उनले वैशाखमै बिजुली पुर्याउने लक्ष्य राखेको भए पनि कोरोना भाइरसका कारणले ढिलो भएको बताए ।
यता विद्युत् प्राधिकरण वितरण केन्द्र डडेल्धुराले मिटर फारम आवेदन माग गर्दा १/२ जनाले मात्रै आवेदन दिएको र अन्य उपभोक्ताले मिटर आवेदन फारम नभर्ने गरेको कारण बिजुली नपुगेको जनाउँदै आएको थियो । उपभोक्ताले मिटर लगेर जडान गरेपछि विद्युत् प्राधिकरणले बिग्रिएको ठाउँमा मर्मत गरेर विद्युत छोडेको जनाएको छ ।
अमरगढी नगरपालिकाको चिरकिट्टे, ढोल पोखरा, सतकाटा, रोडङा र भागेश्वर गाउँपालिकाका खाल्टा, चौडलगायतका बस्तिमा समेत बिजुली पुगेको छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक १८, २०७७ ११:४९