जिल्ला सदरमुकाम डडेल्धुरामा तरकारीको मूल्य आकासिएको छ । व्यापारीले किसानको खेतबाट खरिद गर्दाको मूल्यमा दुईगुनाले वृद्धि गरी उपभोक्तालाई बेचिरहेका छन् । अहिलेको महँगीमा दैनिक तरकारी किनेर खान निकै समस्या छ ।
तरकारीको मूल्य पसलै पिच्छे फरकफरक हुँदा उपभोक्ता मारमा परेका छन् । तरकारी उत्पादनमा अग्रणी जिल्लाका रूपमा चिनिने डडेल्धुरामा तरकारीको हाहाकार हुँदा उपभोक्ता चिन्तित छन् ।
दैनिक भान्छामा पाक्ने तरकारी अहिले बिरलै मात्रामा पाक्ने गरेको छ । गाउँबाट सदरमुकाममा ल्याएको तरकारी महँगो हुने भएका कारण अमरगढी नगरपालिका- ५ का खेमराज पनेरुले कौसीमै तरकारी खेती सुरु गरेका छन् ।
उनी कृषि प्राबिधिकसमेत हुन् । पनेरुले घरको छतमाथि विभिन्न फलफूल, तरकारी र जडिबुडी लगाएका छन् । ३ तले घरको छानामा हरियो साग, काँक्रालगायत मसालाजन्य विभिन्न बालीसँगै महँगो फलफूल किबीसमेत लगाएका छन् ।
अमरगढी नगरपालिका- ५ बागथलामा उनी १५ वर्षदेखि बस्दै आएका छन् । पनेरुले १० वर्षदेखि कौसीमा तरकारी उत्पादन गर्दै आएका बताए ।
उनले कौसीबारीमा किवी फल, स्ट्रबेरी र मौसमी तरकारी लगाएर छानाको सदुपयोग गर्दै फोहोर व्यवस्थापन गरेका छन् । घरका सदस्यहरूको समय र आम्दानी बचतलाई पनि टेवा पुगेको उनको भनाइ छ ।
‘आफ्नै लगानीमा नर्सरी जस्ता पक्की आरसीसी ब्याड बनाएर बाहिरबाट माटो ल्याएर सुरुमा हरियो साग उत्पादन गरे । पछिल्लो समयमा अन्य बाली पनि लगाएर सानो ठाउँमा धेरै काम गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्न सफल भएको छु,’ उनले भने ।
उनी सुदूरपश्चिम प्रदेशको एक मात्र कृषि तालिम केन्द्र सुन्दरपुर कञ्चनपुरमा योजना अधिकृतको रूपमा कार्यरत छन् । उनले कौसीबारी व्यवस्थापनका लागि छानाको किनारमा रेलिङको सट्टा पक्की ब्याड बनाएर फलामे ठाँक्रा राखेका छन् । बालीबाट बढीभन्दा बढी उत्पादन लिन उनले लगानी गरेका छन् ।
बारीमा सजिलै कुहिने बिभिन्न फोहोरलाई व्यवस्थापन गर्दै कम्पोस्ट मल पनि तयार गर्न सकिने उनले बताए । कौसीमा उत्पादन भएको तरकारीले आफू सन्तुष्ट रहेको पनेरु बताउँछन् । त्यही मल बारीमा प्रयोग गर्दा प्रांगारिक हुन्छ । स्वस्थ र स्वादिलो तरकारी फलफूल उत्पादन हुने भएकोले अत्यन्त कम खर्चमा धेरै वर्षसम्म लाभ लिन सकिने उनको भनाइ छ ।
‘समाजमा बेरोजगारी व्याप्त छ । आम्दानीको श्रोतहरू सीमित भएका छन्, ‘व्यावसायिक कृषि खेतीभन्दा पनि घरायसी प्रयोग र सामान्य घर खर्च धान्नका लागि आर्थिक उपार्जनको सजिलो माध्यम कौसीबारी बन्न सक्छ । आफू र घर परिवारलाई पनि व्यस्त राख्ने भएकाले सबैले गर्न सकिन्छ ।’
पनेरुबाट अनुशरण गर्दै जिल्ला सदरमुकामका केही घरधनीहरूले पनि कौसीमा तरकारी फलाउन थालेका छन् । घरको तरकारी घरमै, ताजा पनि खान पाइने यसमा फाइदा रहेको अमरगढी- ५ बागथलाकै नन्दराम खत्रीले बताए।
सदरमुकामलगायत स्थानीय तहहरूले पनि यस्तो कार्यक्रम सञ्चालन गर्नुपर्नेमा खत्रीको जोड छ । सदरमुकाममा धेरै घरका छाना तरकारीमय भएका छन् । केही गर्न चाहने युवाहरूका लागि स्थानीय तहहरूले अवसर सिर्जना गर्नुपर्ने उनको भनाइ छ ।
पैसाको बचतसँगै प्रांगारिक र विषादीरहित उत्पादन उपभोग गर्न पाएकोमा खत्री परिवार खुसी छ । साथै, कौसी तरकारीबाट कोरोना सन्त्रास र महामारीका समयको सदुपयोग गरेर आम्दानी पनि भइरहेको खत्रीले बताए ।
प्रकाशित मिति: शनिबार, भदौ २७, २०७७ १७:१७