ललितपुर कुपण्डोलकी नाम परिवर्तित निशालाई करिब पाँच महिनाअघि फेसबुकमार्फत एक युवाको फ्रेन्ड रिक्वेस्ट आयो । म्युचुअल फ्रेन्ड कोही पनि थिएनन् । कन्फम गरूँ कि नगरूँ, दोधारमा परिन् ।
रिक्वेस्ट पठाउने युवा डोटी केआई सिंह गाउँपालिका–६ का केशवराज भट्ट थिए । उनको प्रोफाइल फोटो हेर्दा कुनै उच्च अधिकारीभन्दा कम देखिँदैनथ्यो ।
निशाले सोचिन्, राम्रै मान्छे होला, कन्फम गरिदिऊँ । मोबाइलमा कम्फम बटन थिचिन् । उनीहरू फेसबुकमा साथी बने । त्यसपछि निशाले फेसबुकमा बनेको साथीबारे केही सोचिनन् ।
निशाले फेसबुकमा कन्फम गरेको नोटिफिकेसन केशवराजले दुई दिनपछि थाहा पाए ।
केशवराजले निशालाई म्यासेन्जरमार्फत म्यासेज पठाए, ‘थ्याङ्क यु निशाजी कन्फम माई फ्रेन्ड रिक्वेस्ट ।’
निशाको रिप्लाई थियो, ‘वेलकम !’ त्यो दिनको कुरा यतिमै सीमित भयो ।
निशाले मनमनै सोचिन्, मान्छे राम्रै रहेछ । त्यसको भोलिपल्ट केशवराजले फेरि म्यासेज पठाएर हाल खबर साधे । निशाले सहर्ष उत्तर दिइन् । उनले पनि केशवराजको बारेमा सोधीखोजी गरिन् ।
केशवराजको जवाफ थियो, ‘म नेपाल सरकारको शाखा अधिकृत, सिंहदरबार अफिस ।’ निशाले नपत्याउने कुरै थिएन । केशवराजको फेसबुक वाल फोटो पनि त्यस्तै देखिन्थ्यो ।
फेसबुकमार्फत गफ बाक्लिँदै गयो । निशालाई पनि केशवराजको कुरा मन पर्दै गयो । पछि भेटघाटसमेत गरे । विस्तारै मायाप्रेमका कुरा सुरु भयो । केशवराज निशालाई चार बजेपछि मात्र भट्थे । निशालाई साँच्चिकै विश्वास लाग्यो, उनी शाखा अधिकृत नै हुन् ।
उनीहरूबीच छोटो समयमै माया बस्यो । विवाहसम्मको निर्णयमा पुगे । हरेक कुरा सेयर गर्न थाले । शारीरिक सम्बन्धसमेत नियमित हुन थाल्यो । निशाले केशवराजलाई पैसासमेत दिन थालिन् ।
तर, केही दिनअघि आफू ठगिएको थाहा पाएपछि निशा महानगरीय अपराध महाशाखा पुगेकी थिइन् । प्रहरीले केशवराज भट्टलाई मंगलबार चावहिलबाट पक्राउ गरेको छ ।
प्रहरीले फेसबुकमार्फत आफू उच्च खानदानको र नेपाल सरकारको शाखा अधिकृत हुँ भन्दै युवतीहरूलाई मायाजालमा पार्ने र ब्ल्याकमेल गरेर पैसा माग्ने गरेको उजुरीका आधारमा पक्राउ गरिएको जनाएको छ ।
केशवराजमाथि विद्युतीय कारोबारअन्तर्गत अनुसन्धान भइरहेको महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहको भनाइ छ । उनले निशा जस्तै अन्य युवतीलाई यसरी नै ठगेको हुन सक्ने बताए ।
दैनिक १५ बढी उजुरी
अपराध महाशाखाका अनुसार दैनिक १५ बढी फेसबुकमार्फत पीडित भएको भन्दै उजुरी दिन युवतीहरू महाशाखा पुग्छन् । युवाहरूले फेसबुकमार्फत युवतीहरूलाई ठूला आश्वासन दिने र लोभ देखाउने गर्छन् । र, युवतीहरू नचिकेकै भरमा विश्वास गर्दा ठगिएको र बर्बाद भएको भन्दै उजुरी दिन आउने गरेको प्रहरीको भनाइ छ ।
विद्युतीय कारोबारअन्तर्गत सबैभन्दा बढी युवती फेसबुकमार्फत ठगिने गरेको प्रहरीको भनाइ छ । नचिनेको र अपरिचित मान्छेलाई फेसबुकमा साथी समेत नबनाउनु सबैभन्दा उत्तम उपाय हुने प्रहरीको भनाइ छ ।
प्रकाशित मिति: शुक्रबार, चैत २९, २०७५ ०३:१३