लकडाउनले सुदूरपश्चिमका खेलाडी प्रभावित भएका छन् । नियमित प्रशिक्षणमा रहने खेलाडी लामो समय लकडाउन हुँदा समस्यामा परेको बताउँछन् ।
लामो समयदेखि प्रशिक्षित हुन नपाउँदा आगामी प्रतियोगिताका लागि फेरि शून्यबाट नै सुरु गर्नुपर्र्नेे भन्दै खेलाडी चिन्तीत भएका छन् ।
‘लकडाउनले प्रशिक्षण गुम्यो’, ‘दक्षिण एसीयाली खेलकुद (साग) मा सहभागी धनगढीकी सरस्वती चौधरीले भनिन्, ‘अब खेल थप बिग्रेला की भन्ने चिन्ता लागेको छ ।’
सागमा चौधरी सहभागी भलिबल टोलीले नेपालको लागि कास्य पदक जिताएको थियो । लामो समय लकडाउनले घरमा थन्किदा शारीरिक र मानसिक समस्या भोग्न बाध्य भएको कतिपय खेलाडी बताउँछन् ।
अहिले प्रशिक्षणको अभावले फिटनेसको समेत समस्या भएको धनगढीका अन्तर्राष्ट्रिय कबड्डी खेलाडी हरिना थापाले बताइन् । यो अवधिमा खेल गतिविधि नभएपछि खेलाडी मात्रै होइन प्रशिक्षक, क्लब र संघका पदाधिकारी पनि घरमै बसेर दिन काटिरहेका छन् ।
अहिले सबैभन्दा धेरै कबड्डी, भलिबल, फुटबल, क्रिकेट लगायतका खेलाडीलाई समस्या भएको कराँतेका प्रशिक्षकसमेत रहेका नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कैलाली अध्यक्ष प्रकाशकुमार चन्दले बताए ।
‘आगामी आउने प्रतियोगिताका लागि फेरि शून्यबाट नै सुरु गर्नुपर्ने चिन्ता छ,’ उनी भन्छन्, ‘खेलाडीले प्रशिक्षित हुन नपाउँदा खेलकुद जगत् नै अस्तव्यव्यस्त बनेको छ ।’ लकडाउने अब आउने प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याउनसमेत समस्या हुने उनी बताउँछन् ।
प्रकाशित मिति: शुक्रबार, असार १९, २०७७ १२:०८