काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षमा विनियोजन गरेको बजेटबाट प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गरेको छ । असार लागेसँगै महानगरपालिकाले रोजगार कार्यक्रम सुरु गरेको हो ।
काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालका अनुसार अहिले रोजगारीका लागि निवेदन दिएकामध्ये ११ जनालाई काममा लगाइएको छ भने उनीहरूसँग महानगरका सरसफाइका कर्मचारीसँगै नगर प्रहरी छन् ।
संवैधानिक व्यवस्थाअनुसार उमेर पुगेका सबै नागरिकलाई रोजगारी दिनुपर्ने हुन्छ । रोजगारी नपाउने नागरिकलाई कम्तीमा सयदिने रोजगारीका लागि आवेदन दिने व्यवस्था गरिएको छ । यसरी आवेदन दिँदा पनि रोजगारी नपाएमा एक परिवारको सदस्यलाई ५० दिनबराबरको निर्वाह भत्ता उपलब्ध गराउने कार्यविधि तयार गरिएको छ ।
संविधानले दिएको रोजगारीको हकलाई प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत कार्यान्वयन गर्ने ढाँचा सरकारले बनाएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनका लागि विश्व बैंकले १३ अर्ब रुपैयाँ सहुलियत ऋण नेपाललाई प्रदान गरेको छ ।
झार उखेल्ने काम सुरु
प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको ३ वर्ष पुगेको छ । पहिलो वर्ष रोजगार कार्यक्रम परिणाममुखी नभएको भन्दै व्यापक आलोचना भएको थियो । भत्ता दिनका लागि अति सामान्य काममा केन्द्रित गरेको र त्यसबाट अन्य लागत घटाउन सहयोग नपुगेको भन्दै आलोचनासमेत भएको थियो ।
झार उखेल्ने, पात पतिङ्गर उठाउनेजस्ता काममा रकम खर्च भएपछि आलोचना भएको हो । काठमाडौं महानगरपालिकाले अहिले पनि झार उखेल्ने काम दिइरहेको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रम, काठमाडौं महानगरपालिका रोजगार संयोजक भरत वलीले बाेटबिरुवा संरक्षण कार्यअन्तर्गत यो काम लगाइएको बताए । उनले कोरोना र त्यसलाई रोक्न लागू गरिएको लकडाउनले गर्दा समयमा काम दिन नसकिएको र अहिले पनि परिणामुखी काम दिन नसकेकाले थोरै संख्यालाई यस्तो काम लगाइएको बताए ।
'लकडाउनको समयमा काम दिइने, देखाउने गरी काम अहिले लगाउने समय पनि भएन,' वलीले भने, 'तिनकुनेदेखि माइतीघरसम्म बोटबिरुवा संरक्षणका लागि गर्नुपर्ने काममा लगाएका छौँ ।'
उनले आगामी आर्थिक वर्षमा भने साउनदेखि नै काम सुरु गरेर परिणाममुखी काममा केन्द्रित गर्ने बताए ।
दिनको ७ सय ज्याला
काठमाडौं महानगरपालिले चालू आर्थिक वर्षमा प्रधानमन्त्री रोजगारी कार्यक्रममा लागि १० लाख रुपैयाँ बजेट पाएको छ । तर, रोजगारी भने ११ जनालाई मात्रै दिन सुरु गरेको छ । चालू आर्थिक वर्षभर नै रोजगारी दिँदा पनि महानगरले अधिकतम १८ दिनको रोजगारी दिनेछ । वलीका अनुसार १२ असारबाट काम दिन सुरु गरिएको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत काठमाडौं महानगरपालिकाले निर्धारण गरेको ज्यालाअनुसार १ दिन काम गरेको उनीहरूले ७ सय रुपैयाँ ज्याला पाउनेछन् ।
काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षमा ३२८ जनलाई रोजगारी दिन निवेदन स्वीकृत गरेको थियो ।
आगामी आवमा दोब्बर बजेट
अधिकमत रोजगारी सिर्जना गर्ने गरी प्रधानमन्त्री रोजगार कार्यक्रमलाई चालू आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षमा दोब्बर बजेट छुट्याइएकाे छ । आगामी आवका लागि ११ अर्ब ६० करोड रकम विनियोजन गरिएकाे छ । प्रधानमन्त्री रोजगार कार्यक्रमबाट २ लाख रोजगारी दिने लक्ष्य राखिएको छ ।
चालू आर्थिक वर्षका लागि प्रधानमन्त्री रोजगारी कार्यक्रमअन्तर्गत सरकारले ५ अर्ब १ करोड बजेट विनियोजन गरेको थियो । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत ७ सय ५३ स्थानीय तहमा नै रोजगार संयोजक नियुक्ति गरिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत राखिएको तथ्यांकलाई श्रम बैंकका रूपमा स्थापना गरिएको छ ।
सरकारले १० हजारभन्दा बढी जनसंख्या रहेको स्थानीय तहमा अधिकृतसरहको रकम दिएर रोजगार संयोजक नियुक्त गरेको छ भने १० हजार कम भएकोमा नायव सुब्बासरहको तलब दिने गरी नियुक्ति दिएको छ । यस हिसाबले ७०५ स्थानीय तहका रोजगार संयोजकले अधिकृतसरहको तलब खानेछन् भने ४८ स्थानीय तहका संयोजकले नासुसरहको तलबसुविधा पाउनेछन् ।
प्रकाशित मिति: बुधबार, असार १७, २०७७ १२:००