अर्थविद् र सरोकारवालाले नेपाल राष्ट्र बैंकले आगामी मौद्रिक नीति तर्जुमा गर्दा संघीय अर्थव्यवस्था सुहाउँदो र बन्दाबन्दी र कोरोनाबाट शिथिल आर्थिक क्रियाकलापलाई गतिशील बनाउन सघाउ पुग्ने खालको व्यवस्था गर्न ध्यान दिनुपर्ने बताएका छन् ।
नेपाल आर्थिक पत्रकार समाजले गरेको कार्यक्रमका सहभागीकर्ताले संघीय संरचनाको मर्मअनुरूप आगामी मौद्रिक नीतिले प्रादेशिक र स्थानीय तहको अवस्था र त्यहाँको संसाधन उपलब्धताअनुसारको समस्या समाधानका लागि नीतिगत विविधीकरणमा ध्यान दिनुपर्नेमा जोड दिए ।
अर्थशास्त्री डिल्लीराज खनालले हालसम्मको मौद्रिक नीतिले मागको व्यस्थापनमा ध्यान दिएको बताउँदै अबको नीति यस सीमाभन्दा अघि बढेर मागको सिर्जना गर्न सक्नुपर्ने बताए । विप्रेषणका आधारमा अर्थतन्त्रका अन्य तहतप्कालाई घिसार्दै अघि बढाउने हालसम्मको नीतिको जोड रहेकोमा अबको मौद्रिक नीतिले सीमान्तकृत तहका समस्या सम्बोधन गर्नुपर्ने उनले बताए ।
कोरोनाबाट शिथिल आर्थिक क्रियाकलापलाई अघि बढाउन पुनर्कर्जालाई विस्तार गर्नुपर्ने र तल्लो वर्गको पहुुँचमा पुर्याउनुपर्ने, अनुत्पादक खर्चलाई नियन्त्रण गर्नुपर्ने र तरलता बढाउन जोड दिनुपर्ने उनले बताए ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अनुसन्धानकर्ता विशाल चालिसेले हालसम्मको मौद्रिक नीतिले प्रशासनिक व्यवस्थापनको पाटोमा मात्र ध्यान दिएको बताउँर्दै अबको नीतिले आर्थिक वृद्धि र बृहत्तर स्थायित्वमा जोड दिनुपर्ने जनाए ।
अर्थशास्त्री केशव आचार्यले यस वर्षको बजेटमा केही प्रदेशहरूले आन्तरिक ऋण परिचालन गर्ने प्रावधान राखेकोले मौद्रिक नीतिले आवश्यक व्यवस्थाद्वारा त्यसको स्पष्ट मार्गदर्शन गर्नुपर्ने बताए । आन्तरिक ऋण परिचालनमा नागरिक बचतपत्र, ट्रेजरी बिल वा अन्य मौद्रिक औजार के प्रयोग गर्नु उचित हुन्छ एवं त्यसको सीमा निर्धारण कति गर्नेजस्ता प्राविधिक कुरामा केन्द्रीय बैंकले सघाउन सक्ने आचार्यले बताए ।
सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहोराले कोरोनाका कारण थलिएको कृषि, पर्यटन, घरजग्गा, यातायात र घरेलु एवं साना उद्योगलगायतका क्षेत्रको पुनरुत्थानका लागि प्रदेश सरकारले बजेटमार्फत ल्याएको कार्यक्रमलाई सहयोग पुग्ने किसिमको मौद्रिक नीति आउनुपर्ने बताए । पुनर्कर्जाको विस्तारीकरण तथा लक्षित क्षेत्रमा दीर्घकालीन कर्जा प्रवाह गर्न विविधिकृत बैंकको स्थापना गर्नुपर्नेमा उनले बताए ।
प्रकाशित मिति: शुक्रबार, असार १२, २०७७ १८:०७