श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले भ्रष्टाचार गरेको आरोप पुष्टि गरे राजनीतिबाट सन्न्यास लिने घोषणा गरेका छन् । आफूले म्यानपावर व्यवसायीसँग रकम मागेको भन्ने आरोप पुष्टि गरेर देखाउन पनि उनले चुनौती दिएका छन् ।
शुक्रबारको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले मन्त्री यादवले वार्षिक सय जना कामदार विदेश पठाउन नसक्ने ५ सय १२ म्यानपावर कम्पनीले मन्त्री यादवलाई एक/एक लाख रुपैयाँ दिएर आफ्नो इजाजतपत्र नवीकरण गराउने खेलमा लागेको अभिव्यक्ति दिएका थिए । श्रम मन्त्रालयको विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले आफूजस्तै अरूलाई पनि बुझ्ने प्रवृत्ति त्याग्न आग्रह गरे ।
'म अहिलेसम्म तीन पटक मन्त्री भइसकेको छु', मन्त्री यादवले भने, 'राजनीतिक जीवनमै भ्रष्टाचार गरेको प्रमाणित गरेमा पनि म सन्न्यास लिन्छु ।' ऐन संशोधन संसदले नै पास गर्नुपर्ने भएकाले अहिले विज्ञहरूबीच छलफल भएर संशोधनका लागि मस्यौदा तयार गरेर संसदमा पेस गर्ने बताए ।
सरकारले विदेशमा समस्या परेका कामदारको उद्धार कार्यसमेत सुरु गरेको संसदमा जानकारी गराएका छन् । सरकारले कोरोना भाइरसका कारण विदेशमा समस्या परेका सबै नेपाली उद्धार गर्ने सरकार तयारी अवस्था रहेको उनको भनाइ छ ।
प्रकाशित मिति: सोमबार, जेठ २६, २०७७ १७:३७