कोरोना भाइरस (कोभिड- १९) विश्वका लागि ठूलो स्वास्थ्य सङ्कटका रूपमा देखापरेको छ । कोरोना भाइरसका कारण संसारकै शक्तिशाली मानिएको अमेरिकामा सबैभन्दा बढीमा संक्रमण र मृत्यु भएको छ ।
गत डिसेम्बरमा चीनको वुहान शहरमा पहिलो पटक देखापरेको कोरोना भाइरस अमेरिकाको वासिङटनमा २० जनवरीमा वुहानबाट फर्किएका एक व्यक्तिमा पुष्टि भएको थियो । अमेरिकामा कोरोना संक्रमण ३ महिना पुग्न लाग्दा ५ लाख ३३ हजारभन्दा बढी भइसकेको छ भने २० हजार ५ सय ८० जनाको मृत्यु भइसकेको छ ।
अमेरिकामा कोरोना भाइरसका रोगीको उपचारमा दिनरात खटिइरहेका छन्, डा. प्रकाश श्रेष्ठ । पछिल्लो १४ वर्षदेखि अमेरिकामा बस्दै आएका डा. श्रेष्ठ ३ वर्षभन्दा लामो समयदेखि टेक्सासमा रहँदै आएका छन् ।
कोरोना भाइरसले सबैभन्दा धेरै चपेटामा पारेको अमेरिकाको कोभेनान्ट मेडिकल सेन्टरमा उनी संक्रामक रोग फिजिसियन, इन्फेक्सन प्रिभेन्सन र एन्टिमाइक्रोबियल स्टेवार्डसीप मेडिकल डाइरेक्टर छन् । श्रेष्ठ नेप्लिज सोसाइटी अफ लबबकका अध्यक्ष पनि हुन् ।
संक्रामक रोग विशेषज्ञ भएका कारण यतिबेला रातदिन नभनी रोगीको उपचारमा खटिनु उनको दैनिकी हो । त्यसबाहेक प्रशासनिक काममा पनि उनले भूमिका निभाउनुपर्छ ।
कोरोना भाइरस निको बनाउन अहिलेसम्म औषधि र खोप बनिसकेको छैन । त्यसैले उपचारमा कठिनाइ छ । यो रोगबाट बच्नु र संक्रमितलाई छिटोभन्दा छिटो आइसोलेसनमा राख्नु नै अहिले सबैभन्दा प्रभावकारी उपाय हो ।
‘अमेरिकामा जनवरीमा पहिलो संक्रमण पत्ता लागेपछि तत्कालै अधिकतम परीक्षण गर्नुपर्थ्यो, त्यसो गरिएन र सीमित परीक्षण मात्र भयो । त्यसले गर्दा अहिलेको भयावह अवस्था देखापर्यो,’ डा. श्रेष्ठ भन्छन्, ‘कोरोना संक्रमण भएमा १४ दिनसम्म अनिवार्य क्वारेन्टाइनमा बस्ने र सामाजिक दूरी कायम गर्नुपर्छ । अस्पतालमा आउने मात्र होइन, तिनीहरूको सम्पर्कमा आउनेहरूको चेन पत्ता लगाएर परीक्षण गर्नुपर्छ । अधिकतम परीक्षण गरेर संक्रमितहरू पत्ता लगाउन सकियो भने संक्रमण रोक्न सहयोग पुग्छ ।’
उनका अनुसार यो रोग लागेका करिब ८० प्रतिशतलाई साधारण लक्षण देखिन्छ र घरमै बसेर पनि ठीक हुन सक्छन् । गम्भीर बिरामी भएर अस्पताल आउने २० प्रतिशतमध्ये ५ प्रतिशतलाई भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने हुन्छ ।
कोरोना भाइरस संक्रमण भएकामा ८० वर्षभन्दा माथिकाको मृत्यु दर १५ प्रतिशत छ भने ६० वर्षभन्दा माथिकाको ५ प्रतिशत देखिएको छ । यस्तै, ४० वर्षभन्दा कम उमेरका बिरामीको मृत्युदर ०.५ प्रतिशत छ । इटालीमा वृद्धवृद्धाहरूको संख्या धेरै रहेकाले मृत्यु हुनेको संख्या निकै बढी रहेको उनको भनाइ छ ।
औषधि र खोप तत्काल उपलब्ध हुँदैन
कोरोनाको औषधि कहिले पत्ता लाग्छ ? भन्ने हाम्रो प्रश्नमा डा. श्रेष्ठ भन्छन्, ‘यो नयाँ रोग देखापरेको जम्मा ४ महिना भयो । अहिले विभिन्न प्रकारका औषधिहरू परीक्षणमा छन् । कुनै पनि औषधिले यो रोग ठीक हुन्छ भनेर सिफारिस गर्ने अवस्थामा पुगिएको छैन र त्यो बेला भएको पनि छैन ।’
उनका अनुसार मलेरियाका बिरामीलाई दिइने हाइड्रोक्सिक्लोरोक्विनको परीक्षण भइरहेको छ । यो औषधि चीनको वुहान र इटालीमा पनि प्रयोग भयो । अहिले अमेरिकामा पनि यसको परीक्षण सुरु हुँदै छ ।
एचआईभीका बिरामीलाई दिइने क्यालेक्ट्रा, रेम्डेसिभिर जस्ता औषधिको पनि परीक्षण भएको छ । यसले केही बिरामीलाई राम्रो पनि गरेको तर अझै परीक्षण बाँकी रहेको उनको भनाइ छ ।
‘सामाजिक सञ्जालदेखि समाचारमा समेत कोरोनाको खोपको चर्चा बढी हुने गरेको छ,’ उनले भने, कोरोनाको खोप प्रयोगमा ल्याउन कम्तीमा पनि डेढ वर्षदेखि २ वर्षसम्म लाग्न सक्छ । अहिले महामारी निम्तिएका कारण कतिपय परीक्षण छिटो गरिएको हुन सक्छ । प्रि-क्लिनिकल परीक्षण हुँदै यसमा मान्छेमा पनि विभिन्न चरणमा परीक्षण गर्नुपर्छ । यसले गर्ने काम, कति मात्रामा दिने र सुरक्षित छ कि छैन भन्ने जस्ता धेरै तहमा परीक्षण गरेर त्यसको नतिजा आएर प्रयोग गर्न योग्य छ भन्ने भएपछि बन्न प्रयोगमा आउने हो ।’
परकम्प आउन सक्छ
कुनै भाइरस हराउँछन्, कुनै हराउँदैनन् र उत्परिवर्तन भएर नयाँ भाइरस बन्छन् । कोरोना भाइरस सार्स भाइरसकै अर्को रूप हो । त्यसैले यसलाई सार्स कोभ- २ पनि भनिन्छ ।
उनी भन्छन्, ‘विश्वमा विभिन्न देशमा यस भाइरसको संक्रमण कहिले उच्चतम बिन्दुमा पुग्छ भनेर अहिल्यै भन्न सकिँदैन । न्यूयोर्क र न्यूजर्सीमा आगामी २ साता यसको असर बढी पर्ने अनुमान गरिएको छ । कतिपय राज्यमा अगस्टदेखि सेप्टेम्बसम्म पनि यसको पिक आवर बन्न सक्ने भनिएको छ ।’
यो भाइरस फेरि दोहोरिने खतरा कति हुन्छ ? भन्ने प्रश्नमा डा. श्रेष्ठ भन्छन्, ‘भूकम्पपछि परकम्प आएजस्तै यो महामारी पुनः कुनै न कुनै रूपमा दोहोरिन सक्छ । त्यसैले हामीले दोस्रो चरणका लागि पनि तयारी गर्नुपर्छ ।’
उनका अनुसार अहिले संक्रमितको संख्या थोरै रहेका देशमा परीक्षण कम भएर संख्या कम देखिएको पनि हुन सक्छ । त्यसैले संक्रमण देखिएको छैन भनेर ढुक्क बस्नु नहुने उनी बताउँछन् । उनी भन्छन्, ‘उच्च परीक्षणमा जोड दिनुपर्छ । कन्ट्रयाक ट्रेसिङ गर्नुपर्छ । भाइसबाट बच्न हात धुने र सामाजिक दूरीलाई कायम राख्नुपर्छ ।’
पैसाको अभावमा सामान्य लक्षण देखिएर पनि घरमै बसेकालाई समेत राज्यले खर्च गरेर परीक्षण गरी संक्रमण भए क्वारेन्टाइनमा राखेर उपचार गर्न सकियो भने संक्रमणलाई रोक्न सकिने उनको सुझाव छ ।
प्रकाशित मिति: आइतबार, चैत ३०, २०७६ १७:३०