मधेशको अधिकारका लागि २०६३ पछि धेरै शक्ति सतहमा आए । विभिन्न मुद्दा उठाउँदै सरकारसम्म पनि पुगे । २०७० पछि खासगरी तराई मधेशकेन्द्रित चारवटा शक्ति मात्र रहे ।
हालै आएर राष्ट्रिय पार्टीसँगको तालमेपछि अब मधेशमा दुईवटा शक्ति मात्रै अस्तित्वमा रहने भएका छन् । राष्ट्रियसभा निर्वाचनका लागि सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मधेश केन्द्रित दल राष्ट्रिय जनता पार्टी (राजपा)सँग सहकार्य गरेपछि प्रमुख प्रतिपक्षी दल कांग्रेस पनि हालै सरकारबाट बाहिरएको समाजवादी पार्टीसँग सहकार्य गरेको छ ।
कांग्रेस र समाजवादी दलबीच प्रदेश २ मा हुने चार सीटको निर्वाचनमा सहकार्य गर्ने सहमति जुटेको हो । कांग्रेसको तर्फबाट महिला र अल्पसंख्यक एवं समाजवादी पार्टीको तर्फबाट दलित र अन्य उम्मेदवारको बीचमा तालमेल गर्ने सहमति भएको हो ।
दुवै पार्टीबीच भएको एकबुँदे सहमतिपत्रमा समाजवादी पार्टीका तर्फबाट अध्यक्ष उपेन्द्र यादव र कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका छन् । दुई साताअघि राजपा र नेकपाबीच राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्ने सहमति भएको थियो ।
अब मधेशमा दुईवटा शक्ति भएपछि विगतमा आएका अवरोध अन्त्य हुने स्थानीय बताउँछन् । राजनीतिक विश्लेषक डा. सुरेन्द्र लाभले यसलाई व्यक्तिगत लाभसँंग मात्रै जोडिएको बताए । राष्ट्रिय राजनीतिमा कसरी वर्चस्व बढाउने भन्ने खेलमा सबैपार्टी लागेको संकेत यसप्रकारको गठबन्धनले देखाइरहेको उनको कथन छ ।
राष्ट्रिय राजनीतिक दलसँग गठबन्धन गरेसँगै मधेशका मुद्दा ओझेलमा परेको उनी बताउँछन् । मधेश केन्द्रित दलले सत्ताका लागि यस प्रकारको गठनबन्धन विगतदेखि नै गर्दै आएका छन् ।
राजनीतिक विश्लेषक डा.लाभ भन्छन्, ‘कहिले आलोचना गर्ने त कहिले सत्तामा जानका लागि मिल्ने प्रवृति विगतदेखि नै चलिआएको छ, उपलब्धी भने केही हात लाग्दैन । मधेशका जनता र कार्यकर्ताले यो कुरा बुझ्नुपर्छ ।’
दुई गठबन्धन बनेपछि मधेशमा राष्ट्रियसभाको निर्वाचन रोमाञ्चक बन्ने भएको छ ।
प्रकाशित मिति: शनिबार, पुस १९, २०७६ १०:४८