सहरी विकास मन्त्री रामवीर मानन्धर स्यानेटरी ल्यान्डफिल्ड साइट निर्माणस्थल अवलोकनका लागि ‘बन्चरे डाँडा’ पुगेका छन् । अवलोकनपछि उनले ४२ दिनमा ल्यान्डफिल्डसाइटको निर्माण सम्पन्न गर्ने बताएका हुन् ।
काठमाडौं उपत्याकाको फोहोर व्यास्थापनका लागि निर्माण हुँदै गरेको ल्यान्डफिल्ड साइटको कार्य द्रुत गतीमा अघि बढाउने भन्दै उनी ‘बन्चरे डाँडा’ पुगेका हुन् । यसअघि काठमाडौं उपत्यकाको फोहोर नुवाकोटको सिसडोलमा व्यवस्थापन गरिँदै आएको थियो ।
सिसडोलको विकल्पका रुपमा ‘बन्चरे डाँडा’मा ल्यान्डफिल्ड साइटको निर्माण सुरु गरिएको हो । अवलोकनका क्रममा उनले काम द्रुत गतीमा अघि बढाउने निर्देशन दिँदै छिट्टै निर्माण सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । जसरी पनि समयमै निर्माण सम्पन्न गर्ने बताउँदै उनले आफु यो समस्याबाट नभाग्ने समेत बताए ।
आफु मन्त्री भएको ४२ दिनपछि बन्चरे डाँडा पुगेका मन्त्री मानन्धरले १५–१५ दिनमा गएर कामको निरिक्षण गर्ने पनि बताए ।
‘म पनि यहीँको बासीन्दा भएकाले म यो समस्याबाट भाग्ने छैन । हरेक १५ दिनमा निरिक्षण गर्न निरिक्षण गर्न पनि आउनेछु,’ उनले बताए ।
१४ वर्ष अघि निर्माण सुरु गर्ने योजना रहेको सो ल्यान्डफिल्ड साइट निर्माणमा यसअघिको व्यवस्थापनले देखाएको कमजोरीलाई बिर्सिएर जारी काममा सहयोग गर्न पनि उनले आग्रह गरे । मन्त्रीसँगै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, मध्यपुर थिमीका मेयर मदनसुन्दर शाक्यलगायत पनि अवलोकनका लागि गएका थिए ।
उनीहरु सबैले ल्यान्डफिल्ड साइटको व्यवस्थापनमा सबैजना मिलेर काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
बन्चरे डाँडाको स्यानेटरी ल्यान्डफिल्डको निर्माणका लागि सरकारले स्थानीयको १७ रोपनी जग्गा अधिग्रहण गरेको छ । पहिलो चरणमा ३४ करोड ६८ लाख रुपैयाँ बजेट विनियोजन गरिएको सो ल्यान्डफिल्ड साइटमा २० वर्षसम्म फोहोर व्यवस्थापन गर्न मिल्ने छ ।
तर, त्यहाँका स्थानीय बासिन्दा भने बन्चरे डाँडामा फोहोर फाल्न नदिने भन्दै आन्दोन गर्दै आएका छन् । सरकारले नुवाकोटलाई फोहोर फाल्ने ठाउँ मात्रै बनाएको तर त्यहाँको विकासनिर्माणमा चासो नदिएको भन्दै उनीहरुले विरोध गरेका हुन् ।
सरकारले आफ्नो सहजताका लागी ल्यान्डफिल्ड साइटसम्म पुग्ने बाटो पिच गरेको तर नजिकैका अन्य सडकको स्तारेन्नतीमा चासो नदिएको उनीहरुको गुनासो छ । सडकका साथै विकासका अन्य पूर्वाधार निर्माणमा पनि सरकारले ध्यान नदिएको भन्दै उनीहरुले आन्दोलनलाई निरन्तरता दिने बताउँदै आएका छन् ।
प्रकाशित मिति: शुक्रबार, पुस १८, २०७६ १८:४२