गृहमन्त्री रमेश लेखकले सिरहामा यौन दुर्व्यवहारमा परेर ज्यान गुमाएकी महिलाको घटनाबारे छानबिन गर्न प्रहरीलाई निर्देशन दिएका छन् ।
बुधबार गृहमन्त्री लेखकले सिराहामा यौन दुर्व्यवहारमा परेर ज्यान गुमाएकी महिलाको घटनाबारे छानबिन गर्न प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापालाई निर्देशन दिएका हुन् ।
'सिरहामा यौन दुर्व्यवहारमा परेर ज्यान गुमाएकी युवतीको घटनाबारे गृहमन्त्री लेखकज्यूले चासो राख्नुभएको छ । यो घटनाबारे छानबिन गर्न आईजीपी दीपक थापालाई निर्देशन पनि दिनुभएको छ,' गृहमन्त्री लेखकको सचिवालयले भन्यो ।
नवराजपुर गाउँपालिका–३, जगतपुरकी २५ वर्षीया आनन्दीदेवी सदाय मंगलबार सोही ठाउँमा रहेको माइतीघरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । आनन्दीदेवीले ९ पुसमा सोही ठाउँका २२ वर्षीय सञ्जीवकुमार यादव र ३२ वर्षीय श्यामसुन्दर यादवले यौन दुर्व्यवहार गरेको बताएकी थिइन् ।
उनीहरूविरुद्ध जाहेरी दर्ता गर्न जाँदा प्रहरीले दर्ता गर्न अस्वीकार गरेको उनले बताएकी थिइन् । तर, प्रहरीले भने जाहेरी नलिएको भन्ने उनको भनाइलाई अस्वीकार गरेको थियो । जिल्ला प्रहरी कार्यालय, सिरहाका एसपी अनन्तराम शर्माले घटनाको अनुसन्धान अघि बढाइएको बताएका छन् ।
‘जाहेरी लिएर हामीले अनुसन्धान गरिरहेका थियौँ र अहिले पनि त्यसलाई जारी राखेका छौँ । सञ्जीवकुमार र श्यामसुन्दरविरुद्ध पक्राउ पुर्जी जारी पनि भएको छ,' उनले भने, 'उनीहरू फरार रहेकाले खोजी गरिरहेका छौँ ।'
आनन्दीदेवीका श्रीमान् भने वैदेशिक रोजगारीमा छन् । आनन्दीदेवी दुई वर्षीया छोरीसहित माइतीमा बस्दै आएकी थिइन् ।
प्रकाशित मिति: बुधबार, वैशाख ३, २०८२ १२:१५