त्रिभुवन विश्वविद्यालय (त्रिवि)का उपकुलपति केशरजंग बरालले पदबाट राजीनामा दिएपछि कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले निमित्तको जिम्मेवारी तोकेका छैनन् ।
उपकुलपतिले राजीनामा दिएमा कुलपतिले शिक्षाध्यक्षलाई निमित्त दिन सकिने व्यवस्था छ । तर, प्रधानमन्त्री ओलीले निमित्तको जिम्मेवारी तोकेका छैनन् । त्रिविको ऐनअनुसार शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसीले निमित्तको जिम्मेवारी पाउनुपर्ने हो ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अवकाश पाएलगत्तै सरकारले डेपुटी गभर्नर निलम ढुंगानालाई कामु दिने निर्णय गरेको थियो । त्रिविको हकमा भने कुलपतिले अनदेखा गरिरहेका छन् । त्रिविका प्राध्यापकहरूले कुलपतिको विश्वविद्यालयप्रतिको दृष्टिकोण कति कमजोर छ भन्ने पनि यही उदाहरण काफी रहेको टिप्पणी गरिरहेका छन् । उपकुलपतिको अनुपस्थितिमा प्रशासनिक काम अप्ठ्यारो पर्ने त्रिविका कर्मचारीहरू बताउँछन् ।
त्यसो त नयाँ उपकुलपति नियक्तिको प्रक्रिया पनि आरम्भ भएको छैन । बरालको राजीनामासँगै निमित्तको जिम्मेवारी पनि नतोक्ने र नयाँ नियुक्ति प्रक्रिया पनि नथाल्ने कुलपतिको रवैयाको त्रिविमा भने आलोचना हुन थालेको छ ।
शिक्षाध्यक्षलाई निमित्तको जिम्मेवारी पनि ऐनअनुसार बढीमा ३ महिना बनाउन सकिने व्यवस्था छ । अर्थात् ३ महिनाभित्र नयाँ उपकुलपति आइसक्नुपर्ने ऐनको आशय देखिन्छ । बरालले राजीनामा दिएको १५ दिनभन्दा बढी भइसक्यो ।
प्रधानमन्त्री ओली अहिलेका त्रिवि पदाधिकारीलाई पनि हटाउने पक्षमा देखिएका छन् । आफ्नो सेट ल्याउने उनको सोचका कारणले पनि अहिले निमित्त दिनसमेत आनाकानी गरेको हुन सक्ने त्रिविमा चर्चा भइरहेको छ । एमालेनिकट भएर पनि ओलीको विश्वास जित्न नसकेका प्राध्यापक हुन् खड्ग केसी ।
हुन त २०७२ मा एमालेकै कोटामा जापानका लागि राजदूत सिफारिस भएका थिए । तत्कालीन प्रधानमन्त्री प्रचण्डले उनीसहित त्यतिबेला सिफारिस भएका ११ जना राजदूतको नाम फिर्ता लिएका थिए । संयोगचाहिँ तिनै केसीलाई २०८१ मा प्रधानमन्त्री रहेका प्रचण्डले त्रिविको शिक्षाध्यक्ष नियुक्त गरेका थिए । त्यतिबेला प्रचण्डले रोकेका केसीलाई अहिले भने ओलीले रोक्ने खोजेका थिए ।
अर्कातिर रजिस्ट्रार केदार रिजालको हकमा पनि कांग्रेसको एउटा पङ्क्ति असन्तुष्ट छ । आफूहरू ब्राण्डेड कांग्रेस भएकाले रिजाललाई हटाएर आफूहरू जानुपर्ने लाइनमा केही कांग्रेसनिकट प्राध्यापकहरू लागेका छन् । उनीहरू कांग्रेस सभापति शेरबहादुर देउवासहित प्रधानमन्त्री ओलीसम्म पनि पुग्न थालेका छन् ।
त्यसैले, अहिलेको सेट नै परिवर्तन गर्ने ओलीको चाहनाका कारणले पनि त्रिविले निमित्त नपाएको हुन सक्ने आकलन त्रिविमा भइरहेको छ । त्यही कारणले पनि हुन सक्छ, एमालेनिकट विद्यार्थी संगठनका नेताहरूले केसी र रिजालको राजीनामा पनि मागिरहेका छन् ।
प्रकाशित मिति: मंगलबार, वैशाख २, २०८२ ०६:५८