आज विक्रम संवत् २०८२ साल वैशाख १ गते । नयाँ वर्षको पहिलो दिन, एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । पुराना अभिलेखहरू हेर्ने हो भने, विक्रम संवत्बाहेक अरु थुप्रै संवत्हरूबारे उल्लेख पाइन्छ । तर, मूलतः विक्रम संवत्सहित नेपाल संवत्, कलिगत संवत्, मानदेव संवत्, शक संवत्लगायत चलनमा छन् । नेपालको मूल पात्रो विक्रम संवत्अनुसार बनाइएको छ । राजा विक्रमादित्यको नामबाट राखिएको मानिने यो संवत्अनुसार वैशाख १ लाई नयाँ वर्षको पहिलो दिन मानिन्छ ।
आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो । सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको राष्ट्रिय धर्मसभाका अध्यक्ष प्रा. डा. माधव भट्टराई बताउँछन् ।
उनका अनुसार, विक्रम ६० संवत्सरमध्ये एक र आदित्य सूर्यसँग सम्बन्धित भएकाले यसलाई विक्रमादित्य संवत् भनिएको हो, सूर्यको गति र स्थितिअनुसार विक्रम संवत् चल्दछ, शक संवत्का विशेषतादेखि इश्वी संवत्का व्यावहारिक गुण यसभित्र समावेश गरिएको छ ।
तीमध्ये विक्रम संवत्, कलिगत संवत्, शक संवत्, मानदेव संवत्, नेपाल संवत् प्रमुख हुन् । यीमध्ये विक्रम संवत्मा वर्षको पहिलो दिन वैशाख १ लाई मानिन्छ । विक्रम संवत्को वर्ष सूर्यको गति र महिना चन्द्रमाको गतिअनुसार निर्धारित गरिएको छ । पृथ्वीले सूर्यको एक फन्को लगाउन ३६५ दिन लगाउँछ । यी ३६५ दिनलाई विक्रम संवत्ले १ वर्ष मान्छ ।
सूर्य मेष राशिमा प्रवेश गर्दा सुरु भएर मीन राशि छोड्दा यो संवत्को पुरानो वर्ष सकिएर नयाँ वर्ष सुरु हुने भएकाले वैज्ञानिक रहेको जानकारहरूकाे भनाइ छ । विक्रम संवत्मा पञ्चाङ्ग हेरेर घडी, पला, दिन, बार, महिना, वर्ष, नक्षत्र यावत् कुरा यकिन गर्न सकिन्छ । सौरमान र चान्द्रमानको समन्वय पनि यो संवत्मा भएको छ । कलि युग सुरु भएको तीन हजार ४४ वर्षपछि विक्रम संवत् सुरु भएको हो । राणा प्रधानमन्त्री चन्द्रशमशेरले १९६१ सालदेखि विक्रम संवत्लाई सरकारी काममा प्रयोग गर्न थालेसँगै नेपालमा यसको सुरुवात भएको इतिहासविद्हरू बताउँछन् ।
हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलता/असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं सङ्कल्प गर्छन् । आज बिहानै नुहाउने, घरकोठा–आँगन सफा गर्ने, मीठोमीठो खाने, साथीसङ्गाती तथा इष्टमित्रसँग भेटघाट गरी एकआपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ । विश्वका जुनसुकै कुनामा बस्ने नेपालीले वैशाख १ गतेलाई नयाँ वर्षका रूपमा मनाउँछन् ।
चन्द्रमानअनुसार चैत्र शुक्ल प्रतिपदाका दिन नै सुरु हुने नयाँ संवत्सर भने चैत पहिलो साता नै सुरु भइसकेको थियो । चैत ८ गतेदेखि पिङ्गल नामको संवत्सर सुरु भएको हो ।
वैदिक सनातन हिन्दू धर्मअनुसार ६० संवत्सर छन् । यी संवत्सर आदि अनादिकालदेखि घुम्दै आएका छन् । षष्टि संवत्सरमध्येको पहिलोको नाम प्रभाव हो । अहिले चलिरहेको पिङ्गल ५१औँ संवत्सर हो । यसअघि नल नामको संवत्सर रहेको थियो । प्रत्येक संवत्सरको बेग्लाबेग्लै फल हुने ‘षष्टि संवत्सर’ पुस्तकका लेखक वेदराज पन्तको भनाइ छ ।
प्रकाशित मिति: सोमबार, वैशाख १, २०८२ ०९:००