ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्का नेपाल विद्युत प्राधिकरणअन्तर्गत निर्माणाधीन कोसी कोरिडोर २२० केभी डबल सर्किट प्रसारण लाइन आयोजनाको प्रगतिबारे जानकारी लिन गृहजिल्ला संखुवासभा भ्रमणका क्रममा तुम्लिंगटारस्थित सवस्टेसन पुगेका छन् ।
सो अवसरमा आयोजनाका प्रमुख राघवेन्द्र झाले मन्त्री खड्कालाई आयोजनाको वस्तुगत अवस्था र हालसम्मका उपलब्धिहरूबारे जानकारी गराए । उनका अनुसार इनरुवा–बसन्तपुर–बानेश्वर–तुम्लिंगटार प्रशारण लाइनमार्फत जलविद्युत प्रवाह सुरु भइसकेको छ ।
प्रमुख झाका अनुसार २२० केभी डबल सर्किट ट्रान्समिशन लाइन निर्माण कार्य भारतको कलपत्रु इन्टरनेसनल लिमिटेडद्वारा पूर्णरूपमा सम्पन्न गरिएको हो । त्यस्तै, इनरुवा, बसन्तपुर, बानेश्वर र तुम्लिंगटार सवस्टेसनहरूको निर्माण कार्य लार्सन एन्ड टर्बो लिमिटेड चेन्नई, भारतले सम्पन्न गरेको छ । साथै, बसन्तपुर–धुंगेसांगु ट्रान्समिशन लाइन र धुंगेसांगु सवस्टेसन केईसी इन्टरनेसनल लिमिटेड, गुडगाउँ, भारतले सफलतापूर्वक सम्पन्न गरेको हो ।
केसी-४ अन्तर्गत बाँकी रहेको दोस्रो सर्किट स्ट्रिङ्ग कार्य अन्तिम चरणमा पुगेको छ, जुन नेपाल हाइड्रो लिमिटेडद्वारा सम्पन्न हुँदै छ ।
नेपाल विद्युत प्राधिकरणले आयोजनाको सम्पूर्ण सञ्चालन दुहवी महाशाखाअन्तर्गतको ग्रिड सञ्चालन विभागलाई जिम्मा दिइसकेको छ भने पुँजीकरण प्रक्रिया पनि तीव्र गतिमा अगाडि बढिरहेको छ ।
ऊर्जा आपूर्तिमा उल्लेखनीय सुधार ल्याउने विश्वाससहित यो आयोजनाले पूर्वी पहाडी तथा तराई क्षेत्रको स्थानीय र औद्योगिक विकासमा टेवा पुर्याउने अपेक्षा गरिएको छ । साथै, लोड सेडिङ न्यूनीकरणमा समेत यसले महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ ।
तुम्लिंगटार सवस्टेसनमा आयोजित कार्यक्रममा संखुवासभाका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, नगरप्रमुख, वडाध्यक्ष, स्थानीय जनप्रतिनिधिहरू तथा नेपाल विद्युत प्राधिकरणका प्राविधिक र कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति: सोमबार, चैत २५, २०८१ १५:३५