थाइल्यान्डको बैंककमा हालै सम्पन्न छैटौँ बिमस्टेक शिखर सम्मेलन तथा नेपालका प्रधानमन्त्रीको थाइल्यान्ड भ्रमणका क्रममा प्रतिष्ठित इनर्जी ड्रिङ्क ब्रान्ड रेड बुलका थाई तथा नेपाली प्रतिनिधि र सरकारी पक्षबीच महत्त्वपूर्ण अनौपचारिक भेटघाट भएको छ ।
थाइल्यान्डस्थित नेपाली दूतावासले आयोजना गरेको रात्रिभोजमा नेपालका सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली, माननीय परराष्ट्रमन्त्री आरजु राणा देउवा, रेड बुलको मातृ कम्पनी टीसीपी समूहका प्रमुख कार्यकारी अधिकृत सरभूत युविध्या तथा नेपालमा रेड बुलको लाइसेन्सी सरस वेभरेजेजका प्रबन्ध निर्देशक सुरेन्द्र सिलवालबीच भेटघाट भएको हो ।
भेटघाटमा सिलवाल र युविध्याले प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री राणालाई रेड बुल ब्रान्ड थाइल्यान्ड र नेपालबीच सहकार्यको सफल उदाहरण बनेको दिँदै विश्वव्यापी रूपमा अद्वितीय स्वाद र गुणस्तरका लागि परिचित रेड बुल ब्रान्ड नेपाली उपभोक्तामाझ पनि अत्यन्त लोकप्रिय रहेको जानकारी गराए ।
नेपालको अमरापुरीस्थित फ्याक्ट्री रेड बुलको विश्वकै पाचौँ फ्याक्ट्री रहेको र उत्पादनमा आवश्यक पर्ने आधाभन्दा बढी ऊर्जा सोलार प्रविधिबाट उत्पन्न गराइने हुँदा वातावरणमैत्री फ्याक्ट्री अवलम्बन गर्न सफल भएको अवगत गराउँदै सिलवाल र युविध्याले हाल नेपालस्थित फ्याक्ट्रीले ४ सयभन्दा बढीलाई रोजगारी दिइरहेको तथा थप २ मिलियन अमेरिकी डलर लगानी गरी उक्त फ्याक्ट्रीलाई विस्तार गर्दै थप रोजगारी सिर्जना गर्ने योजना रहेको पनि सुनाए ।
सव अवसरमा सरस वेभरेजेजले नेपाली बजारमा नयाँ उत्पादनहरू ल्याउन तथा छिमेकी राष्ट्रहरू भारत र बंगलादेशमा निर्यातका लागि गृहकार्य गरिरहेको जानकारीसमेत गराइएको थियो । हाल नेपालमा सरस वेभरेजेजले रेड बुलको व्यापारबाट १ अर्बभन्दा बढी कर नेपाल सरकारलाई बुझाउँदै आएको छ ।
त्यस्तै, सिलवाल र युविध्याले ठूलो लगानीका बावजुद रेड बुलले नेपालमा बौद्धिक सम्पत्तिसम्बन्धी गम्भीर समस्याको सामना गरिरहेको ध्यानाकर्षण गराएका थिए । कमजोर गुणस्तरका पहेँलो तथा रेड बुलजस्तै देखिने इनर्जी ड्रिङ्कहरूको बाक्लो उपस्थितिले रेड बुलको बौद्धिक सम्पत्तिमा क्षय हुनुका साथै नेपाली उपभोक्ता झुक्किइरहेकाले प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री राणासँग सरकारी तवरबाट त्यसको नियन्त्रणका लागि दुवै जनाले सहयोगको अपेक्षा गरे ।
प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री राणाको थाइल्यान्ड भ्रमणअघि नेपालस्थित थाई राजदूत सुवापोङ्ग सिरिसोर्नले सरस वेभरेजेजको मुख्यालय भ्रमण गर्नुका साथै खुल्ला सिमाना भएका देश र सिमानाबाट गैरकानुनी रूपमा भित्रिने र बाहिरिने इनर्जी ड्रिङ्कका विषयमा चिन्ता व्यक्त गर्दै गुणस्तरमा सम्झौता गर्न नहुने र गुणस्तर नभएका अन्य उत्पादनसँग सजग रहन आग्रह गरेका थिए । थाई राजदूतको भेटघाटअघि टीसीपीका प्रतिनिधिहरूले समेत रेड बुलको फ्याक्ट्री नै पुगी अन्तर्राष्ट्रिय मापदण्डअनुसारको गुणस्तर सुनिश्चित गर्न अनुगमन गरेका थिए ।
२०७४ सालमा इनर्जी ड्रिङ्कहरूलाई आयात प्रतिबन्ध लगाएसँगै धेरै वर्षको अन्तरालमा सरस वेभरेजेजमार्फत रेड बुल ब्रान्ड नेपालमै फ्याक्ट्री स्थापना गर्ने निष्कर्षमा पुगेको थियो । विश्वको अति कम विकसित राष्ट्रको सूचीबाट विकासशील राष्ट्रको सूचीमा उक्लने नेपालको लक्ष्यलाई पछ्याउने कार्यमा स्वदेशमा उद्यमशीलता बढाउन तथा आत्मनिर्भर मात्रै नभएर निर्यात गर्नेतर्फ अगाडि बढ्न कम्पनी तयार देखिएको छ । एक दशकअगाडि आयात गर्ने ब्रान्ड आज निर्यात गर्ने अवस्थामा आउनु गुणस्तरसँगै विकाशील राष्ट्रमा उक्लने नेपालको लक्ष्यमा सानो योगदान हुन सक्छ ।
प्रकाशित मिति: आइतबार, चैत २४, २०८१ १८:४३