अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध प्रदर्शन भइरहेको छ । राष्ट्रपतिका रूपमा ट्रम्पले आफ्नो दोस्रो कार्यभार सम्हालेपछि पहिलोपटक मानिसहरू ठूलो संख्यामा उनीविरुद्ध सडकमा उत्रिएका हुन् ।
अन्तर्राष्ट्रिय मिडियाहरूले जनाएअनुसार ट्रम्पविरोधी यो प्रदर्शन अमेरिकाका सबै ५० वटै राज्यमा फैलिएको छ । अमेरिकीहरूले यो प्रदर्शनलाई 'ह्यान्डस अफ' नाम दिएका छन् । उनीहरूले यसलाई मानिसहरूको मामिलामा ट्रम्पले दख्खल नदिऊन् भन्ने रूपमा अर्थ्याएका छन् ।
-1743909180.jpg)
प्रदर्शनकारीहरूले सामाजिक तथा आर्थिकलगायत थुप्रै मुद्दामा ट्रम्पको निर्णयमा अनसन्तुष्टि जनाएका छन् ।
ट्रम्पले लगालग कर लगाउन थालेपछि अमेरिकाबाहिर पनि उनको नीतिको विरोध भइरहेको छ । लन्डन, पेरिस, तथा बर्लिनमा पनि यसबारेमा सभाहरू आयोजना भएका छन् । यसले ट्रम्पविरोधी प्रदर्शन अमेरिकामा मात्र सीमित नरहेर युरोपसम्म फैलिएको देखाउँछ ।
-1743909180.jpg)
ट्रम्पले ५७ देशमाथि कर लगाउँदा अमेरिकीहरू पनि यसबाट पीडित बनेका छन् । करका कारण महँगी बढ्न सक्ने चिन्ताले अमेरिकीहरूलाई सताएको छ । अर्कातर्फ करकै कारण मन्दी हुन सक्ने आशंका पनि गरिएको छ ।
मानिसहरूको आक्रोश ट्रम्पमा मात्र सीमित नरहेर एलन मस्कसम्म पुगेको छ । जर्मनीको फ्र्याङ्कफर्टमा बस्ने अमेरिकीहरूले ट्रम्प र मस्कविरुद्ध र्याली निकालेका छन् । बर्लिनमा पनि मस्कको कम्पनी टेस्लाको शोरुमबाहिर सयौँले प्रदर्शन गरेका छन् ।
-1743909178.jpg)
बर्लिनमा प्रदर्शनकारीहरूले एक प्लेकार्ड बोकेका थिए, जसमा लेखिएको थियो- सटअप एलन मस्क, हामीले तिमीलाई भोट दिएका होइनौँ ।
त्यस्तै, एउटा कुकुरलाई कपडा लगाइदिइएको थियो, जसमा लेखिएको थियो- हामी डगी (डीओजीई) को विपक्षमा छौँ ।
-1743909179.jpg)
यसका अलावा पेरिस, लिस्बनजस्ता शहरहरूमा पनि ट्रम्प र मस्कविरुद्ध प्रदर्शन भइरहेको छ । उनीहरूले स्वाभिमानी अमेरिकीहरू सर्मनाक भएको सन्देश दिने प्लेकार्ड बोकेका थिए ।
हजारौँ संघीय कर्मचारीहरूलाई कामबाट हटाउने, सामाजिक सुरक्षा प्रशासनको क्षेत्रीय कार्यालय तथा विभिन्न एजेन्सीहरू बन्द गर्ने, प्रवाशीहरूलाई देश निकाला गर्नेलगायतमा अमेरिकीहरूले विरोध जनाएका छन् । त्यस्तै स्वास्थ्य वित्त पोषणमा कटौती गरेकोमा पनि उनीहरूले ट्रम्प र मस्कको आलोचना गरेका छन् ।
-1743909179.jpg)
सरकारी दक्षता विभागको प्रमुखका रूपमा आएदेखि नै मस्कले अनुदान कटौती, कर्मचारी हटाउनेलगायतका कार्य गर्दै आएका थिए । जसका कारण अमेरिकीहरू उनीप्रति आक्रोशित बनेका हुन् ।
-1743909178.jpg)
प्रकाशित मिति: आइतबार, चैत २४, २०८१ ०९:१७