नेपाल ओलम्पिक कमिटी (एनओसी) को कार्यालयमा प्रवेश नपाएपछि कमिटीको बैठक जुममा बसेको छ । विवादका कारण एनओसीको कार्यालयमा प्रहरी तैनाथ छ । प्रहरीले कार्यालय प्रवेश गर्न नदिएकाले जुमबाट बैठक गरिएको हो ।
नेपाल ओलम्पिक कमिटी (एनओसी) ले १४ औं दक्षिण एसियाली खेलकुद (साग) मा प्रस्तावित खेलका राष्ट्रिय संघहरूसँग ‘जुम’ को माध्यमबाट शुक्रबार बैठक सम्पन्न गरेको छ । आयोजक पाकिस्तानी ओलम्पिक कमिटीले दक्षिण एसियाली ओलम्पिक कमिटीलाई प्रतियोगितामा प्रस्तावित खेलबारे प्रतिक्रिया मागेको हुनाले यो बैठक बसेको हो ।
एनओसीले भौतिक रूपमै बैठक बस्न चाहेको भएता पनि यस संस्थाको कार्यालयमा सरकारको तर्फबाट प्रहरी राखेर प्रवेश निषेध गरिरहेको स्थिति रहेको हुनाले ‘जुम’ को माध्यमबाट छलफल भएको हो । बैठकमा सहभागी विभिन्न राष्ट्रिय संघका प्रतिनिधिहरूले आफ्नो स्पर्धा सम्बन्धमा थप गर्नुपर्ने, मिलाउनु पर्नेबारे विस्तृतमा प्रतिक्रिया दिएका थिए ।
बैठकमा भएको छलफल अनुसार अब एनओसीले आयोजक पाकिस्तानको ओलम्पिक कमिटीलाई प्रतिक्रिया सहितको सुझाव पठाउने भएको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत २२, २०८१ १६:०९