फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले सन् २०३१ को महिला विश्वकपका लागि संयुक्त राज्य अमेरिका मात्र इच्छुक देखिएको बताएका छन् । 'महिला विश्वकपका लागि अमेरिकाको मात्र बोलपत्र परेको छ भने सन् २०३५ को विश्वकप बेलायतले आयोजना गर्ने बताएको छ,' उनले भने ।
बेलग्रेडमा आयोजित यूईएफए कंग्रेसमा बोल्दै इन्फान्टिनोले सन् २०३१ का लागि एक मात्र आशयपत्र संयुक्त राज्य अमेरिका र अन्य केही उत्तर अमेरिका, मध्य अमेरिका र क्यारेबियन फुटबल संघ सदस्यहरूबाट र २०३५ युरोपबाट, घरेलु देशहरूबाट भएको बताए ।
इन्फान्टिनोले सन् २०३१ मा हुने महिला विश्वकपमा सहभागी हुने टोलीको संख्या ३२ बाट बढाएर ४८ पुर्याउने फिफाको योजना रहेको पनि जानकारी दिए । इङ्ल्यान्ड, स्कटल्यान्ड, वेल्स र उत्तरी आयरल्यान्डका फुटबल संघहरूले गत महिना प्रतियोगिता आयोजनाका लागि इच्छापत्र पेस गर्ने घोषणा गरेपछि बिहीबारको घोषणा आएको हो ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०३५ का लागि युरोप र अफ्रिकाबाट आउने बोलपत्रलाई मात्र स्वागत गर्ने बताएको थियो भने सन् २०२६ को दोस्रो त्रैमासिकमा हुने फिफा कांग्रेसमा आयोजकको पहिचान पक्का हुने बताएको थियो ।
सन् २०२६ को पुरुष विश्वकप मेक्सिको र क्यानडासँग मिलेर आयोजना गरिरहेको संयुक्त राज्य अमेरिकाले मार्चको सुरुमा महिला विश्वकप फुटबलका लागि पनि सन् २०३१ का लागि दाबेदारी पेस गर्ने घोषणा गरेको थियो । दक्षिण अफ्रिका र मोरक्को पनि प्रतिस्पर्धामा थिए र अफ्रिकी राष्ट्रहरूलाई पनि बोलपत्र पेस गर्न आमन्त्रित गरिएको थियो, तर इन्फान्टिनोको टिप्पणीले उनीहरू अब दौडबाट बाहिर छन् भन्ने देखाउँछ। आगामी महिला विश्वकप सन् २०२७ मा ब्राजिलमा हुनेछ ।
प्रकाशित मिति: बिहीबार, चैत २१, २०८१ १७:४७