राजावादी आन्दोलनका नाइके दुर्गा प्रसाईं शुक्रबार आन्दोलनकारीलाई भड्काएर भाग्न खोजे । चारैतिर भीड थियो । प्रदर्शनकारीलाई बानेश्वरतिर जानबाट रोक्न बाक्लो संख्यामा प्रहरी सुरक्षा रेखा बनाएर बसेको थियो ।
प्रसाईं केहीबेर सटरभित्र लुकेर बसेका थिए । आन्दोलन हिंसात्मक बनेपछि प्रहरीले आफूलाई पक्राउ गर्ने तयारी गरेको प्रसाईंले थाहा पाए ।
यसपछि भाग्ने उद्देश्यले उनी गाडी चलाएर प्रहरी घेरातिर अघि बढे । उनको गाडीमा ज्योतिषी पुस्कर खतिवडा पनि थिए । एक जनाले प्रसाईंको गाडीले सुरक्षाकर्मीलाई पेलेर अघि बढेको भिडियो गाडीभित्रै बसेर खिचिरहेका थिए । प्रसाईं भने ‘आऊ आऊ’ भनेर प्रहरीलाई लल्कार्दै, प्रदर्शनकारीलाई उक्साउँदै आफैं गाडी चलाएर अघि बढिरहेका थिए । नेपाल प्रहरी र सशस्त्र प्रहरीमाथि नै गाडी चढाउन खोजेका उनी त्यहाँबाट शंखमूल हुँदै ललितपुरको इमाडोल पुगेको प्रहरी स्रोत बताउँछ । इमाडोलमा ज्योतिष पुस्कर खतिवडाको घर छ । त्यहीँबाट प्रसाईंले आफूलाई प्रहरीले जहाँ बोलाए पनि आउने भनेर फेसबुकमा स्टाटस लेखेका थिए ।
खतिवडाको घरमा केही फलफूल खाएका प्रसाईं त्यसपछि फोन अफ गरेर फरार भएका छन् । खतिवडालाई भने प्रहरीले पक्राउ गरिसकेको छ । प्रसाईंको अन्तिम लोकेसन पनि इमाडोल क्षेत्र नै देखिएको प्रहरी बताउँछ ।
प्रसाईंको नेतृत्वमा शुक्रबार भएको राजावादी प्रदर्शनमा हिंसा भड्किँदा एक पत्रकारसहित दुई जनाको मृत्यु भएको थियो भने दर्जनौं अरु घाइते छन् । राजावादी प्रदर्शनकारीले भाटभटेनी सुपरमार्केटमा लुटपाट मच्चाएका थिए । सञ्चार गृहदेखि पार्टी कार्यालय र व्यक्तिका घरसम्म पसेर तोडफोड तथा आगजनी गरेका थिए ।
प्रकाशित मिति: शनिबार, चैत १६, २०८१ १२:००