नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई छाडा हुने छुट दिन नसकिने बताएका छन् ।
शनिबार बिहान समाजवादी मोर्चाको बैठकअघि आलोकनगरमा पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले पूर्वराजा शाहलाई छाडा हुने छुट दिन नसकिने भएकाले सरकार यसबारे गम्भीर बन्नुपर्ने बताए ।
'पूर्वराजा शाहलाई छाडा हुने छुट दिन सकिँदैन । यसमा सरकार गम्भीर बनोस्,' उनले भने । अध्यक्ष प्रचण्डले पूर्वराजा शाहको मानसिकता कति आपराधिक छ भन्ने फेरि पुष्टि भएको बताए ।
‘राजावादीहरूको प्रदर्शनका क्रममा दुई जनाको ज्यानै जाने गरी जुन घटना शुक्रबार घटेको छ । यसले के प्रस्ट पार्छ भने यसको पछाडि पूर्वराजा शाह नै हो,' उनले भने, 'यसबाट उनको मानसिकता नै आपराधिक छ भन्ने अहिले पनि देखिएको छ ।'
शुक्रबार राजावादीहरूले गरेको तीनकुनेको प्रदर्शनका क्रममा हिंसात्मक गतिविधिमा संलग्न भएकाहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए ।
प्रकाशित मिति: शनिबार, चैत १६, २०८१ ११:४४