राजसंस्था पुनःस्थापनाको आन्दोलन भड्काएर हिंसात्मक बनाउन योजनाबद्ध भूमिका खेलेको भन्दै प्रहरीले त्यसका अगुवालाई पक्राउ गर्न थालेको छ ।
राजसंस्था पुनःस्थापना संयुक्त जनआन्दोलनका संयोजक पूर्वपञ्च नेता नवराज सुवेदीलाई घरमै नजरबन्दमा राखिएको छ भने राप्रपाका नेताद्वय रविन्द्र मिश्र र धjलशमशेर राणालाई पक्राउ गरिएको छ । सुवेदीलाई गुह्वेश्वरी हाइटस्थित निवासमै प्रहरीले नजरबन्दमा राखेको हो ।
राजसंस्था पक्षधरको शुक्रबारको आन्दोलन भड्किनुको मुख्य दोष भने कमाण्डर तोकिएका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई लगाइएको छ । उनलाई पक्राउ गर्न प्रहरी परिचालन गरिए पनि उनी फरार रहेको प्रहरीस्रोतले बतायो ।
त्यस्तै, राजावादीको आन्दोलन भड्काएको आरोपमा अधिवक्तासमेत रहेका स्वागत नेपाल, सेफर्ड लिम्बु र सन्तोष तामाङ पनि पक्राउ परेका छन् ।
तीनकुनेको प्रदर्शन हिंसात्मक भएपछि सहभागीहरू तोडफोड, आगजनी र लुटपाटमा संलग्न भएका थिए । सामान्य रुपमा सुरु भएको प्रदर्शन संयुक्त आन्दोलनका कमाण्डर तोकिएका प्रसाईले गाडी चलाएर जर्बजस्ती प्रहरी घेरा तोड्न खोजेपछि भड्किएको थियो ।
प्रदर्शनकारीको आगजनीमा परी टेलिभिजन पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको छ भने प्रहरीको गोली लागेर कीर्तिपुरका एक युवाको ज्यान गएको छ । लगत्तै, प्रदर्शनकारीले तोडफोड, आगजनी र लुटपाट गर्दै कोटेश्वरदेखि जडिबुटीसम्म पुगेका थिए । त्यसक्रममा एकदर्जनभन्दा धेरै सवारी जलाउनुका साथै अन्नपूर्णपोष्ट, कान्तिपुर टिभीलगायत सञ्चारगृहमा आक्रमणसमेत गरेका थिए । कोटेश्वरस्थित भाटभटेनीमा लुटपाट मच्चाएका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ चारवटै सुरक्षा निकायका प्रमुखसँग छलफलसमेत गरेका थिए । त्यसअघि नै राजावादी आन्दोलनमा सक्रियता जनाएका व्यक्तिहरूलाई पक्राउ गर्न थालिएको थियो ।
प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१ २३:३८