विभागीय टिम एपीएफले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेशको सम्भावनालाई जीवितै राखेको छ ।
बुधबार सिद्धार्थ क्रिकेट स्टेडियममा भएको खेलमा कोशी प्रदेशलाई २ विकेटले पराजित गर्दै एपीएफले फाइनल प्रवेशको सम्भावनालाई जीवितै राखेको हो । कोशी प्रदेशले दिएको २५५ रनको लक्ष्य एपीएफले ४४.४ ओभरमा ८ विकेट गुमाएर भेट्टाएको थियो ।
एपीएफका लोकेश बम ८४ रनमा अविजित रहे । कप्तान रोहित पौडेलले ६१ र दीपक बोहोरा ३६ रन जोडे । यसैगरी, सन्दिप जोराले ३० रन जोड्दा इर्साद अहमद १६ रनमा अविजित रहे ।
कोशी प्रदेशका लागि दीपेश कँडेल र फिर्दोष अन्सारीले समान ३-३ विकेट लिए । यस्तै, ज्ञानेन्द्र श्रेष्ठ र भूपाल लुइँटेलले समान १-१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोशी प्रदेशले निर्धारित ५० ओभरमा २५४ रनको योगफल तयार पारेको थियो । कोशी प्रदेशका लागि साकिब हकले सर्वाधिक ६८ रन जोडे । यस्तै, कप्तान अंकित सुवेदीले ३५, आशिष भट्टाराईले ३४ र सुजन थपलियाले ३३ रन जोडे ।
एपीएफका लागि मौसम ढकाल र अभिषेक गौतमले समान ३-३ विकेट लिए । यस्तै, कप्तान रोहित पौडेलले २ विकेट लिँदा इर्साद अहमद र अमर रौटेलाले समान १-१ विकेट लिए ।
लगातार सातौँ जितसँगै एपीएफ ९ खेलबाट १४ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ । एक खेलअघि नै फाइनल प्रवेश गरेको पुलिसको ८ खेलबाट १६ अंक छ । दोस्रो स्थानमा रहेको त्रिभुवन आर्मी क्लबको ८ खेलबाट १४ अंक छ । त्रिभुवन आर्मी क्लबले अब लिग चरणको अन्तिम खेल पुलिस क्लबसँग खेल्नेछ ।
प्रकाशित मिति: बुधबार, चैत १३, २०८१ १६:३१